पूर्व जनमुक्ति सेना लेख्छन् :जनयुद्ध राजनीतिक फेरबदल र दैनिकी

Avatar photo
Dhadingpost
कार्तिक ११, २०७५

१० बर्षे जनायुद्ध र शान्ति प्रक्रिया, राजनीतिक फेरबदल र संक्रमण ले धेरै मानिसको जीवन  यात्रा, पेसा, ब्यवसाय, चिन्तन, दृष्टिकोणमा निक्कै प्रभावित बनयो ।  म एक जनायुद्धमा प्रत्यक्ष सहभागी सिपाही हुनले झनै प्रभावित हुने नै भयो ।

मेरो जिवनको मुल बाटो नै प्रभावित बनयो अर्थात बाटो नै परिवर्तन भयो र केही अन्यौल पनि । सामाजिक जिवन, सोचाइ, कर्मबाट आफ्नै निजि मामला मुख्य चुनौती बनेर उभियो । केही ब्यवसाय गरे अनुभवको कमी र निरन्तरत दिन नसक्दा असफल नै नभए पुर्ण परिणाम मुखी प्राप्त गर्न सकेन तर एउटा महत्त्वपूर्ण शिक्षा हासिल गर्‍यो, म, मेरो आफ्नो हैसियत के हो ?

ब्यवसायिक कार्यक्षमता बल्ल थाहा पाँए । मेरो हजुर बा, बाउ किसान थिए र म पनि किसान भन्दा अरु होइन रहेछ भन्ने मेरो ठम्याई भयो । माक्र्सवादको केहि आधारभूत बिषय र बम, बन्दुक, युद्ध बाहेक अरु मेरो लागि सबै नौलो थियो, त्यसैले सुन्यबाट सुरु गरेर सिक्नु नै पर्छ भन्ने बल्ल बुझियो । अन्ततः कृषि कर्ममा लाग्ने तर परम्परागत भन्दा केही आधुनिक र पुर्ण ब्यावसायिक हुने ।

१ बर्ष भन्दा बढी कृषि कर्ममा मिहिनेत, लगानी र ब्यवस्थापन अनुसार नै प्रतिफल मिल्दै गयो । फेरि यतिले सन्तुष्ट मिल्न सकिरहेको थिएन, मन पुर्ण सन्तुष्टि मिलेको र यतिमा चित्त बुझिरहेको भने थिएन । चिनजानको केही साथी, आफन्तहरु कोरिया तिर रहेको थाहा थियो, बेलाबखत कुरा भए पनि खासै गहिरिएर वास्त हुँदैन थियो ।

एक दिन सामाजिक संजलमा एक कन्सल्टेन्सीले ईपीएस कोरियाको बारेमा शेयर गरेको समाचार देखे । ईन्स्टिच्युटमा गएर बुझे, ईन्स्टिच्युटको मस्ती, बढाई, चढाई गफगाफले मलाई पनि कत कत कोरियाको सपना मनमा सिर्जना गराइदियो ।

जीवनकालमा बिदेशी कुल्ली कहिल्यै गरिने छैन, देश, जनता, क्रान्ति, आन्दोलनको पक्षमा दृढ भएर उभिने, जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गर्ने चाहे आफ्नो भागमा बलिदान नै किन नपरोस् मनभरी यस्ता यस्ता क्रान्तिकारी ओजस्वी कल्पनाहरुले मात्रै भरिएको थियोे। दिमाग भरी बम, बन्दुक, सैनिक ब्यारेको नक्सा, आफ्नो टोलीको स्थिति, पोजिसनले भरिएको दिमाग बिस्तारै नितान्त ब्यक्तिगत गाँस, बाँस र कपास कै अभावले थचारे पछि परिवर्तन हुन बाध्य बनायो ।

मुल राजनीतिक बिचार र नेतृत्वमा नै अर्थात मुल बाटोमा नै भीषण बाढी, पहिरो गए पछि म जस्तो एक बटुवा को के सीप लागोस पनि ।

जिल्ला प्रशासनमा लडाइँ
कोरियान भाषाको लागि फर्म भर्न नगारिकत चाहिने रहेछ । बालाई लिएर नगारिकत बनाउन जिल्ला प्रशासन कार्यलय गए । नेपालको प्रशासनको स्पष्ट नमुना त्यहा प्रत्यक्ष देख्न पाए । त्यो एक मौका कै रूपमा लिए । प्रयले उमेर पुग्नसाथ नागरिकता बनाउदा रहेछन् । उमेरले ३० बर्ष काटे पछि म नि नागरिकता बनाउन गए ।

अवश्यक कागजात पूरा भए पनि कर्मचारीहरुले मेरो शिक्षाको प्रमाणपत्र खोजियो, प्रमाणपत्र नभए पछि मलाई अपराधी पक्राउ शैलीमा भित्र लगेर अत्यन्तै तुच्छ शब्दहरुले केरकार गर्‍यो, उनीहरुको प्रश्नको जवाफ दिंदै गए, मलाई अहिलेसम्म नागरिकता अवश्यक परेन त्यही भएर बनाएन मेरो सिधा जवाफ थियो, तर मानेन र त्यसपछि मैले सिडिओ साप संग नै कुरा गर्न माग गरे झनै दुर्ब्यबहर गरे, ३० बर्ष पुग्दा नगारिकत किन नबनएको ? कहाँ गको थियिस ? के काम गर्छस ? यस्तै प्रश्न ले वक्क, दिक्क बनायो ।

म प्रतिबाद गर्दै थिए, मलाई नगारिकत नै अहिलेसम्म चाहिएन त्यही भएर नबनाएको दोहोर्‍याउदै थिए । चिनेको कोहि नेता भए बोलाउन भने एकजना कर्मचारीले, नत्र पुलिस बोलाएर गोदाउछु भने, वा नेपालको गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र यहि रहेछ बुझ्न कुनै कठिन थिएन । त्यसपछि म झनै रिसले चुर भए, म जंगिएर को नेता चाहियो ? म नेपाली नगारिक बाउ, आमाको छोराले नगारिकत बनाउन पनि नेता चाहिने ? करिब एक घण्टा जत्ति ल्याङ ल्याङ गरे पछि मैले म पुर्ब माओवादी छापामार हुँ भनी परिचय दिए, अस्ति भर्खर सम्म बैध्य नेतृत्व माओवादी पार्टीको ३ नम्बर निर्वाचन क्षेत्रको इन्चार्ज थिए अहिले स्वतन्त्र छु, मैले जनयुद्धकलमा तिमीहरू जस्तो जनतालाई दुख दिनेहरु भेटाए खुट्टा भाचिदिन्थ्यो रिसको झोकमा भनिदिए ।

फेरि प्रमाण खोजे मोबाइलमा भएका युद्धकालको बम र बन्दुकको साथ खिचेका केही फोटोहरु देखाइदिए पछि एक एक भाग्न थाले, युद्धकालमा गृहमन्त्री शक्ति बहादुर बस्नेत (सुरेश सिङ) संग खिचिएको फोटो देखे पछि उनीहरुको होस नै उड्यो, गृहमन्त्री त मेरो नजिकको साथी भनी गफ दिएको मेरो खुट्टा नै ढोगुला जस्तो गरे ।

त्यसपछि सिडियोले उसको कोठामा बोलायो, सिडियोले मलाई यस्तो कुरा सुरुमै भन्न पर्छ नि भने, कर्मचारीहरुले राम्रोसँग नबुझेर गल्ती गरेछ भन्दै क्षमा पाउ है सर भन्दै चिया खाएर जान भनें । यति गरे पछि बल्ल नेपाली नगारिकत प्राप्त भयो ।

कुल्लीको लाईनमा पुलिसको डन्डा
सपनामा पनि देखेको थिएन अरुको देशमा गएर कुल्ली गर्नु पर्ला भनेर । आफूलाई जहिले पनि उच्च चेतनशील, संसर परिवर्तन गर्न हिडेको योद्धा,मजदुर श्रमजीवी बर्गको मान्छे, मानव जातिको कल्याणकारी हुँ भन्ने अंहकार थियोे । समय निक्कै बलवान् रहेछ, समयले मलाई गलायो । छानो र मानोले सताउदै गर्दा तत्काललाई बिदेशी कुल्ली नै गर्नु पर्ने निचोडमा पुग्यो ।

अब उप्रन्त बाटो फरक भयो तर माक्र्सवादी चेतना, बिचार, दृष्टिकोणमा भने खासै परिवर्तन भएको छैन ।पुँजीबादको बिकल्प समाजबाद नै हो भन्ने कुराले अझ दृढ बनायो । भर्खरै सानो तिनो संघर्षबाट प्राप्त नागरिकता खल्तीमा बोकेर कोरियान भाषा परिक्षाको फर्म भर्न महाराजगन्जको भ्याली स्कुलमा दिउँसो पुगे, ए आम्मा ….हो .. म जस्तै कुल्लीको लाइन हजारौंको थियो. ..पुलिसले लौरो हन्दै लाईन कन्ट्रोल गरि रहेका मेरो देशको चित्र, गणतन्त्र, राजनीतिक ठेकेदार, जनता, युवा धेरै सम्झे ।

लाइनमा उभिने केहिलाई सोधे कति भयो लाइनमा बसेर ? बिहान २ बजे उठेर आको अहिले १ बजि सक्यो अझै पालो आको छैन, यत्तिखेरै एकजना जनाताको सेवक पुलिस भाईले (ओइ तुरुन्तै यहाँबाट जन्छ्स कि उखु खन्छ्स? निक्कै कडा कसानको अगाडि मेरो केही लाग्ने अवस्थ थिएन र फर्म नै भर्न सकिएन । दोस्रो दिन गएँ फेरि उस्तै छ ।

कोठामा आए अब फर्म नै नभर्ने कि भन्ने सोच भयो । अन्तिम दिनमा फेरि हेर्न गए केही मान्छे बाहेक सुनसान रहेछ, सबै कुरा बुझेर बिस्तारै अनन्दले फर्म भरियो । फर्म भरे पछि दिनको १ घन्टा कोरियान भाषाको कक्षा लिन थालेँ ।कक्षामा आफ्नो बिगतको पृष्ठभुमि गोप्य नै राख्न चाहन्थे र मैले कोहीसंग बताएका पनि थिएन तर एका एक मलाई कमरेड भनेर भन्न थाले त्यसपछि म संग कोरियान भाषाको होइन युद्धको कुरा गर्नेहरु धेरै भए ।

फेरि ईन्स्टिच्युट नै परिवर्तन गर्ने सोच आयो तर विविध कारणले अनुकुल देखिएन । नियमित आफ्नो खेतीपाती संगै भाषा कक्षा र पढाई राम्रै भए पनि कता कता बिदेशी भाषाको अध्यन, रोजिरोटी कै लागि बिदेशीने कुराले मनमा अनेकन तरंग पैदा हुन्थ्यो, कतै म गलत बाटोमा जाँदै त छैन ? प्रश्नको अनेक चाङ्ग नै भिएर आउँदा बीच बीचमा पढ्न छोडिदिउँ कि जस्तो पनि लाग्थ्यो । मनमा बेतुकको अनेक कल्पनाले गर्दा कयौं पटक त पढ्न पनि छोडियो । खेतीको काम र बजारले गर्दा नियमित कक्षा जना पनि मिल्दैन थियोे । यहि बीचमा भुकम्प गयो त्यसपछि पढाई नै बन्द भयो । परिक्षा पनि सरेकोले केही सहज भयो ।

मेहनत परिणाम
परिक्षा आउन जम्मा २० दिन बाँकी थियो। नियमित कक्षा जना थाले निक्कै ट्यालेन्ट साथीहरूको आगडी म रिक्रुट नै थिए ।कक्षामा हुने परिक्षमा ३२–३३ भन्दा ल्याउनै सकेन । परिक्षा आउन १० दिन जत्ती बाँकी हुँदा शिक्षक मनोज बाराकोटीको कमजोर विद्यार्थी लिस्टमा म पनि परेको भन्ने सुत्रबाट थाहा पाए ।

अफ्ट्यारोमा हतास र निरास नहुने बरु दृढ भएर आगाडी बढ्नु नै उपयुक्त ठाने । भए हुन्छ, नभए के पो होल र ? भन्ने सोच आयो र ढुक्कसँग एकपटक मेहनत गर्ने निर्णय गरे ।दैनिक ८ घण्टा पढ्न थाले । प्रत्येक दिन सक्रिय सुदृढ हुन थाल्यो तर कक्षा परिक्षामा अरुले ४५ को हरहरी ल्याउदा मेरो भने ३५–३६ भन्दा माथी कहिल्यै आएन । त्यसपछि म बीचको विद्यार्थीमा गणिन थाले तर समय जम्मा ३ दिन मात्र थिए, पढ्न छोडेन ।

दोस्रो दिनमा परीक्षको दिन नेपालको संबिधान जारी हुने दिन थियो, संविधान निर्माणको गलत प्रक्रिया र लिपुलेकमा भारत र चिनको हस्तक्षेप विरुद्धमा बिप्लब नेतृत्वको माओवादी पार्टीले बन्दा आयोजना गरेको हुनाले बुढो साइकल चढेर परिक्षा दिन गए । परिक्षा कोठामा प्रवेश गर्दै गर्दा एउटै स्कुलमा, एकै कक्षामा पढेर १५ बर्ष अगाडी छुट्टिएका मेरो साथी पनि परिक्षा दिन नजिकै टेबुलमा परेको रहेछ १५ बर्ष पछिको भेट निक्कै रोमाञ्चक नै थियो। ५० प्रश्न मध्ये ३० देखि ३५ प्रश्नको उत्तर सजिलो लागे पनि १० वाट जत्ती प्रश्न केही बुझ्न नै सकिएन, त्यसैले सबै प्रश्नको उत्तर ३ नम्बरमा लगाए ।

परिक्षा पछि सबै साथीहरू नम्बर गन्न थाले म भने बूढो लाइकल स्टर्ट गरे। किनकि कुन मिल्यो र कुन मिलेन म अनभिज्ञ थिए । पास भए बिदेशी कुल्ली, फेल भए देशभक्त भन्दै आफ्नै बारीतिर लागे । ४० दिनपछि रिजल्ट आयो । खेतमा बजार लाने साग टिप्दै थिए । पास भएको खबर अनुज कुमारले फोनमाबाट बताए पछि आधा डोको साग नै बोकेर घर फर्के । आर्थिक संकटको राम्रो अनुभवी मेरी बुढी केही आस लागेर होलि म भन्दा उनी निक्कै खुसी देखिइन ।

ब्रोइलर मासु खाएर कोरियन भाषा उत्तिर्णको खुसियाली मनाइयो । फेरि पासपोर्ट बनाउन सदरमुकाम बिदुर गए । नगारिकता बनाउन जाने बेलाकै कर्मचारी हरु रहेछ । मैले बिर्सन थालेछु बरु उनीहरुले नमस्कार ठोके । सर कुन देशको लागि हो पासपोर्ट बनाउनु भाएको ? अनेक उनिहरुको चासोले दिक्क बनाए पछि युरोप तिरको भ्रमण जना लागेको । शक्तिका पुजारी सिर्जशिल बिहिन जागिरे सरहरुलाई गफ ठोकिदिए । कुल्ली जना लाग्य छु युरोप भ्रमणको गफ, आफ्नो हावा गफले आफैंलाई नौलो महसुस भयो । मुसु मुसु हाँस्दै फर्किए । घरमा आएर बुढीलाई यही कुरा सुनाएर दिल खोलेर गलल हाँसे ।

पहिलोचोटि चील गाडीमा र भुँई गाडीमा
अत्यास लाग्दो, पट्यरीलो पर्खाई र झन्झटिलो प्रक्रियाले कहिले पुग्ने कोरिया । मनभरी अनेकन दृष्यहरुको पिक्चले कता कता पुर्‍याउथ्यो पनि । बल्ल श्रम सम्झौता आयो । अनि घरमा बा, आमा, दिदि बहिनी, नजिकको साथीहरूलाई कोरिया जाँदै छु भने तर कसैले तुरुन्तै पत्याएन । सबै प्रक्रिया पूरा गरे पछि २०१८ जुन १४ तारिकमा उडान निश्चित भयो ।

एकै दिन ७० जना जत्तिको उडान भए पनि सिधै कोरियन एयरमा हामी जम्मा १६ जना मात्रै थियौं । अरु सबै ट्रन्जिटबाट रहेछन् । इपिएस कार्यलयले पैसा दिए बापत उपलब्ध गराएको कुल्ली भनेर प्रष्टीने एक थान टोपी र ज्याकेट भिरेर एयरपोर्टमा लार्को लागियो । एयरपोर्टमा पुर्‍याउन आउने आफन्तहरु सँगको बिदाइमा आँखामा बग्दै गरेको पिल पिल आँसुले मन थाम्न निक्कै गह्रो भयो, मन जति भक्कानिय पनि सम्हाल्निुको बिकल्प थिएन । जीवनकालमा पहिलो पटक हवाई जहाज चढ्दै थियो, उत्सुकता पनि त्यत्ती नै थियोे । नेत्र बिक्रम चन्द (बिप्लब) को शब्द र निर्मला घिसिङको स्वार …कस्ले बनायो दाजै उनी जाने बस) गितलाई पनि मनले कुल्चिएर पहिलो पटक चील गाडीमा करिब ६ घण्टा ३० मिनेटको यात्रबाट दक्षिण कोरियाको इन्चन अन्तर्राष्ट्रिय बिमनस्थालमा उत्रियो ।

एयपोर्ट्बाट निस्कने ठाउँमा एचअरडि कोरियाका ३ जना कार्मचारीले हामीलाई पर्खिएर बसिरहेको रहेछ, जस्मा नेपाली मुलको एक कोरियान पनि रहेछ । चेकिङ पछि आफ्नो झोला, कुम्लाहरु समाए । ट्रन्जिट भएर आउने साथीहरू आइपुग्न अझै २ घन्टा लाग्ने हुँदा हामीले पर्खनु पर्ने भयो । कर्मचारीहरुले हामीलाई प्लास्टिक एक एक थैलो दियो, जसमा पाउरोटी र जुस रहेछ ।

खानेपानी र ट्वाइलेट देखाइदिए । पानी खाने तरिका नजानेर हैरान भयो, तरिका सिक्न पनि अरुकै सिको गर्नु पर्‍यो ।नेपालमा थोत्रा, धुलो धुँवाले कुहिरो मण्डल, गन्हाउँने बसपार्क मात्र देखिरहेको आँखाले बिकासको चरम उत्कर्ष देख्दा अचम्मित नै थिए । साथीहरू आइपुगे पछि लामो बसहरुमा १०० वरिपरिको गतिमा, निक्कै फराकिलो सडक, अझ समुन्द्र माथिको पुलमा गाडी गुडेको नितान्त नौलो अनुभुती हुने नै भयो । यहाँको तालिम केन्द्रमा बसले पुर्‍याउन साथ मेडिकलको लागि तयारी रहेछ ।

विभिन्न देशको गरि करिब ३०० जना कामदारको एक्सरे, रगत, पिसाब, प्रेसर, तौल, उचाई लगायत १ घण्टा भित्रै सकियो । यति छिटो छिटो मेडिकल गर्ने तरिका देख्दा दाङदास नै भएँ । त्यसपछि दुई दिनको मानसिक प्रशिक्षण पछि कम्पनीको साहु र साहुनी लिन आए ।अनिदो, थकाइ, नयाँ वतावरण, नयाँ खानपानको दुई दिन ले यहाको मजदुर यात्रको संकेत गर्दै थियोे । नेपालमा आफैंले गाडी चलाउदा अरुको चलाइमा हिंड्द ८०–९० को गति भन्दा माथी गुडेको थाहा थिएन, त्यो खालको सडक नै छैन । हामीलाई लिन आएका साहुको गाडी चढे पछि कोरियाको अचम्मित बिकास निर्माण देख्न पाइयो ।

विभिन्न आकार, प्रकारका पुल अनि सुरुङ र १५०–१७० को गतिमा गाडी हुँकिदा साच्चै नौलो भिन्न अनुभव लाई शब्दमा म कसरी बर्णन गरँ । कम्पनीमा आइपुगे छ गाडी घ्यच्च रोकियो । पुरानो एक नेपाली साथी दोभाषे राखेर हामी दुइलाई खाने, सुत्ने र काम बारे बताएर साहु हिंडे । अब भोलि बाट कुल्ली सुरु हुने छ । मेरा साथी बिक्रम थकाइ र अनिदोले मस्ती सुते, म भने यात्राको सम्झनामा डुबिरहे । लेखन शैलीको तरतम्य, कला र सान्दर्भिकता जोड्न नजानिए पनि, नमिले पनि यात्रा अनुभुती मनको बह शब्दमा पोखियो ।
जितेन्द्र तामाङ
दक्षिण कोरिया,ओसान सि