ग्रामिण सडक मर्मत, चल्न थाले गाडी

Avatar photo
Dhadingpost
अशोज २९, २०७५

गोपाल फ्युवा तामाङ
धादिङ खनियाँबास असोज २९ ।
पहिरोको कारणले वा वर्षाको भेल पसी बिग्रे भत्की अवरूद्ध भएका ग्रामिण सडकहरू मर्मत कार्य भइरहेको छ ।

पानी पर्न छोडेपछि गाउँ गाउँमा डोजर लगाई सफा गर्ने कार्य भइरहेको छ । यसै क्रममा खनियावास गाउपालिका वडा नं ३ अन्तरगत माझगाउँ-छङगम-ब्युर्चेत-युङकला-डिस्योङ-कुरी सम्मको मर्मत कार्य सम्पन्न भएको छ ।

वर्षामा ग्रामिण सडकहरू अवरूद्ध हुॅदा यहॉको जनतालाई अत्यावश्यक कार्यको लागि सदरमुकाम आवतजावतमा ठूलो समस्या रहेको थियो ।
खासगरी भूकम्प पुनर्निर्माणको किस्ता लिन सदरमुकाम पुग्नै पर्ने बाध्यताले बृद्धबृद्धा, अशक्त र शिशु भएकाहरूले धेरै कष्ट भोग्नु परेको थियो ।

सामानको सटेज बढ्दै थियो बाटो खुल्यो ठिक भो, बाटो खोलेकोमा खुशी व्यक्त गर्दै थिए स्थानीय व्यापारी सुकबहादुर तामाङ ।

वडाध्यक्ष हरिलाल तामाङले भन्छन्- राष्ट्रिय रूपमा लामो सार्वजनिक विदा भएकोले प्रायः कर्मचारी र विद्यार्थीहरूको गृह आगमन यही बेला हुने भएकोले सहज यात्राको लागि पहल गर्यौ । अझ अन्य ट्र्याकहरू पनि मर्मत हुॅदै जाने छ ।

धादिङबाट दार्खा चौकी हुॅदै कुरीसम्म पुग्ने भए पनि बच्छला तर्फको सडक भने खुलेको छैन । अझ काठमाडौ-त्रिशुली-किम्ताङ हुॅदै बच्छलासम्म पासाङल्हामु यातायातको क्यु गाडी समेत सञ्चालनमा आउन सके ब्युर्चेत, कुरी, अक्थली र क्युङ सम्मका जनताले सहजता पाउने थिए ।