अमेरिकामा शक्तिशाली आँधी, १४ जनाको मृत्यु

Avatar photo
Dhadingpost
अशोज २५, २०७५

काठमाडौं, असोज २५ । मध्य अमेरिकामा एक सय वर्षपछि कै सबैभन्दा शक्तिशाली आँधी आएको छ । हालसम्म कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

फ्लोरिडामा ३ लाख ७० हजारभन्दा बढी मानिसहरुलाई आफ्नो ठाउँ छाड्न र उच्च स्थानमा गएर बस्न भनिएको छ । तर सबैले आफ्नो घर छाड्न सकेका छैनन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘विना कुनै आवश्यक धन कुनै पनि व्यक्तिलाई आफ्नो घर छाड्न सजिलो छैन । केही क्षेत्र निकै गरिब छन् । उनीहरुका लागि हामीले केही बसहरु पठाएका छौं । मानिसहरुलाई सुरक्षित स्थानमा सार्न हामी धेरै प्रकारले कोशिस गरिरहेका छौं ।

यो आँधीले अकल्पनीय विनाश निम्ताउने चेतावनी त्यहाँको आँधी तुफान केन्द्रले दिएको छ । फ्लोरिडाका गर्भनर रिक स्कटले यो आँधी एक सय वर्ष यताको सबैभन्दा खतरनाक भएको बताएका छन् ।

२५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको यो आँधीलाई ‘माइकल’ नाम दिइएको छ । आँधी र बाढीबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको छ । अलबामा, जर्जिया, फ्लोरिडा लगायतका क्षेत्रमा आपतकालीन स्थिति घोषणा गरिएको छ ।

माइकल तुफानले अमेरिकाको पूर्वी तटमा बढी असर गर्ने बताइएको छ । यसको प्रभावको कारण ठूलो पानी पनि पर्ने छ । यो त्यही क्षेत्र हो जुन गत महिना आएको फ्लोरेन्स आँधीले तहसनहस पारेको थियो । राम्रोसँग बौरिन नपाइ फेरि माइकल आँधीले त्यहाँका बासिन्दालाई घरबारविहीन बनाइदिएको छ ।

राष्ट्रिय विपत व्यवस्थापन एजेन्सीका निर्देशक ब्रोक लङ्गले सन् २००१ भन्दा अगाडि बनेका भवनहरुलाई आँधीले क्षति पुर्‍याउन सक्ने बताएका छन् ।

फ्लोरिडाका गर्भनर रिक स्कटले भनेका छन्, ‘अब घर छाडेर सुरक्षित स्थानमा जाने समय पनि छैन । यदि तपाईं तटीय क्षेत्रमा हुनुहुन्छ भने आफ्नो घर नछाड्नुहोस् । तटीय क्षेत्रबा निस्कने समय सकिइसक्यो । स्थानीय अधिकारीहरुले भनेअनुसार गर्नुहोला । यदि तपाईं इनलैन्ड काउन्टीमा हुनुहुन्छ भने तपाईंलाई आश्रय लिने अन्तिम मौका हुनसक्छ तर स्थानीय अधिकारीहरुले सुरक्षित स्थानमा लगेमा मात्रै ।

राष्ट्रिय तुफान केन्द्रले सुरक्षित स्थानमा जान नसकेकाहरुलाई घरबाहिर ननिस्किन भनेको छ । ‘तटीय क्षेत्रका बासिन्दा शान्त वातावरण देखेर बाहिर ननिस्किनु होला किनभने खतरनाक हावा निकै तीव्र गतिमा अघि बढेको छ,’ चेतावनी जारी गर्दै भनिएको छ ।