फेला परेका इन्टरपोल प्रमुखले दिए राजीनामा

Avatar photo
Dhadingpost
अशोज २२, २०७५

एजेन्सी, असोज २२ । हराइरहेका भनिएका इन्टरपोल प्रमुख मेङ होङवेईलाई चीनमा विगत १२ दिनदेखि हिरासतमा राखिएको खुलासा भएपछि अहिले उनले अन्तर्राष्ट्रिय प्रहरी निकायबाट राजीनामा दिएका छन् ।

इन्टरपोलले तत्कालै लागू हुने गरी उनको राजीनामा प्राप्त आइतवार राति अबेर प्राप्त गरेको थियो । अघिल्लो महिना फ्रान्सबाट चीनका लागि उडेका मेङ बेपत्ता भएपछिको यो सबभन्दा पछिल्लो ट्विस्ट हो ।

बेइजिङबाट विज्ञप्ति आउनुअघि र उनको राजीनामा पाउनुअघि उनका बारेमा केही पनि थाहा हुन सकेको थिएन । उनी असोज ९ गते चीन आएका थिए ।फ्रान्सको लियोनमा एक पत्रकार सम्मेलन गरेर ग्रेस मेङले पत्रकारहरूलाई आफ्ना श्रीमानले गायब हुनुअघि चक्कुको संकेत भएको इमोजी पठाएको र यसबाट उनी खतरामा रहेको संकेत प्राप्त भएको विश्वस्त भएको उनले बताइन् ।

चौंसट्ठी वर्षीय मेङ वरिष्ठ चिनियाँ सुरक्षा अधिकारी पनि हुन् र उनीसँग फौजदारी अपराध, विशेषगरी लागूऔषध नियन्त्रण, आप्रवासन र सीमा सुरक्षाको ४० वर्षभन्दा बढीको अनुभव छ ।

आइतवार साँझ एउटा छोटो विज्ञप्ति निकालेर चिनियाँ अधिकारीहरूले मेङलाई अनुससन्धानको दायरामा राखिएको बताए । उनले कानून उल्लंघन गरेको आशंकामा नयाँ सरकारी भ्रष्टाचारप्रतिरोधी इकाइले अनुसन्धान गरिरहेको हो ।मेङकी पत्नीले उनीबाट एक सन्देश पाएर उनी खतरामा रहेको थाहा पाएको केही समयपछि चिनियाँ अधिकारीहरूको विज्ञप्ति आएको हो ।