सिरहा, असोज १८ । स्थानीय मेरु ठाकुर गर्भ निरोधक संगिनी सुई लागाउन चार दिनदेखि चोहर्वास्थित स्वास्थ्य चौकी गोलबजार धाइरहेकी छन् ।
उनीमात्रै होइन, बुधबार स्थानीय सौनिया महरा नातीनिको घाउको उपचार गर्न विहान १० वजे नै स्वास्थ्य चौकी पुगे । तर ११ बजेसम्म कुनै स्वास्थ्यकर्मी नआएको उनले गुनासो गरे । भने, ‘यहाँ जहिले आएपनि यस्तै अवस्था हुन्छ ।
उनले अहिलेसम्म स्वास्थ्यकर्मी भेट्न सकेकी छैनन् । चोहर्वास्थित स्वास्थ्य चौकी गोलबजारका स्वास्थ्यकर्मीहरु कार्यालयमा नजाँदा स्वास्थ्य सेवा लिन पुगेका सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् ।
स्वाथ्य केन्द्रका अनमी अन्जना राय बुधबार पनि ११ बजेपछि आएर कार्यालय खोल्दै थिए । उता, स्वास्थ्य केन्द्र प्रमुख हेल्थ असिस्टेन्ट गणेश साह सोमबारै मौखिक जानकारी गराएर काठमाडौं गएका छन् । बिहानै काठमाडौ गएपनि उनले सोमबारको समेत हाजिर ठोकेका छन् ।
६ जना दरबन्दी रहेको स्वास्थ्य चौकीमा नियमित तथा समयमा स्वास्थ्यकर्मी उपस्थित नहुँदा मर्कामा परेको सेवाग्राहीले गुनासो गरेका छन् । आफू चार दिनदेखि आएपनि स्वास्थ्यकर्मी नभेटिएको ठाकुरले बताइन् । उनले भनिन् ‘संगिनी सुई लागाउनुपर्ने १२ गते कै समय थियो, दैनिक आइरहेकी छु तर, स्वास्थ्यकर्मी कोही छैनन् ।
साह पनि स्थानीय एक निजी क्लिनिकमा बस्ने र समयमा र नियमित स्वास्थ्य केन्द्र नजाने गरेको स्थानीय बताउछन् । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नं. ७ का अध्यक्ष जगत श्रेष्ठले आफूले स्वास्थ्यकर्मीहरुलाई पटक पटक समयमै आउन भनेपनि उनीहरुले अटेर गर्दै आएको बताए ।

