बिरामीको मृत्यु, लाइफलाइन अस्पताल तनाबमा

Avatar photo
Dhadingpost
अशोज १८, २०७५

दमक, असोज १८ । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा बिरामीको उपचार गर्ने क्रममा मृत्यु भएपछि अस्पतालमा तनाव सिर्जना भएको छ ।

डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले प्रर्दशन गरेपछि अस्पताल तनावग्रस्त बनेको हो ।

दमक– ६ का ७५ वर्षिया सीतादेवी शाहको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएपछि मृतकका परिवार र आफन्तले बुधबार रातिसम्म प्रर्दशन गरेका हुन् । पाँच दिनअघि पेट दुखाईका कारण अस्पतालमा भर्ना भएका शाहलाई चिकित्सककै सहमतिमा बुधबार दिउँसो सिटी स्क्यान गर्नका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको थियो ।

बिहीबार बिहान मृतकका परिवार र अस्पताल प्रशासनबीच सहमति भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । के सहमति भयो भन्ने खुलाइएको छैन । सहमति भएसँगै पीडित पक्षले शव उठाएका छन् ।

सघन उपचार कक्षमा उपचाररत शाहलाई सिटीस्क्यान गरेर पुनः उपचार कक्षमा ल्याउन साथ श्वासप्रश्वासमा समस्या आएको थियो। शाहको अकस्तमात हृदयघात भएको अस्पतालले जनाएको छ ।

अस्पतालले दिएको जवाफप्रति मृतक परिवारले असन्तुष्टि जनाउँदै प्रर्दशन गरेका थिए । मृतकका छोरा वीरेन्द्रले श्वासप्रश्वासमा समस्या आउन साथ अक्सिजन लगाएर उपचार गर्न छाडेर आधा घण्टा त्यतिकै राख्दा आफ्नी आमाको अकालमा ज्यान गएको बताए ।