
धादिङ असोज १२ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ११ (साबिकको ज्यमरुङ गाबिस) का किसानहरुले बहुगुणकारी फल किवी खेती गर्ने भएका छन् ।
किसानहरुलाई किवी खेति बारे जानकारी गराउनको लागि १ दिने कार्यशाला गोष्ठी भैसकेको नीलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष तिलक बहादुर थापा मगरले धादिङपेष्टलाई बताए ।
काठमाडौँबाट २ जना प्राबिधिकहरु झिकाएर ज्यामरुङको हावा पानी र माटो परिक्षण गरि सकेकोले किवी खेती गर्ने किसानहरुलाई वर्डा कार्यालयले प्रत्सोहान समेत गर्ने अध्यक्ष थापामगरले बताए ।
गोष्ठीमा ज्यमरुङ किवी फलफुलको ब्यबसायिक खेतिको लागि योग्य रहेको प्रशिक्षक तथा किवी फलफुल महासंघ नेपालका महासचिब सगुन उप्रेतीले बताए ।
उनले भने (किविको ५/६ वटा जातहरु मध्य २ वटा जातहरु ज्यमरुङको हावापानी सुहाउदो लगाउन सकिन्छ, यो बहुबर्षिय खेति हो, यस खेतीबाट कृषकहरुले मनग्गे आम्दानी लिन सकिन्छ, बजारको समस्या छैन । १ दिने किवी फलफूलको बारेमा जानकारी गराउन आयोजित कार्यशाला गोष्ठी बाट कृषकहरु अत्यन्त उत्साहित भएका थिए ।
हामीले कम्तिमा पनि ५० रोपनी जग्गामा (५०० जति बिरुवा) लगाउन सुरुवात गर्नेछौ, जुन पुष (माघ महिनामा लगाउनु पर्ने हुन्छ । यसको लागि आर्थिक बर्ष २०७५/७६ मै किवी खेति सुरवात गर्ने भनेर केहि बजेट बिनियोजन पनि गरेका छौ वडा अध्यक्ष तिलक बहादुर थापा मगरले भने ।
किबी बारे थप जानकारी
किवी पहिलो पटक नेपालमा अमेरिकी वैज्ञानिक नेथानियल वालिचले सन् १८२१ मा पत्ता लगाएका थिए । तर कतिपयले किवी (Actonidia deliciosa) जापानी रैथाने फल भन्ने गरेका छन् । खासमा चीनको याङत्जे उपत्याका किवीको पितृभूमि हो । यो ठूलो झाङ हुने लहरा प्रजातिको काठयुक्त काण्डसहितको पतझड विरुवा हो । वास्तवमा नेपालको पहाडी जंगलमा पाइने ठेकी फल नै किवी हो । किवी चराले नेपाल लगायत विश्वका अन्य मुलुकमा यसलाई पु¥याएको मानिन्छ । चीनबाट विउ लगेर सर्वप्रथम सनु १९०६ मा पहिलो पटक न्यू जील्याण्डमा किवी नर्सरीमा उमारिएको थियो । विऊबाट उमारिएको विरुवाले सन् १९१० पहिलो पटक फल दियो । यसको व्यवसायिक खेती न्यू जील्याण्डमा सन् १९४० बाट शुरु गरिएको थियो भने सन् १९७० सम्ममा त्यहाँ ९०० एकर क्षेत्रमा यसको खेती भइसकेको थियो । सन् १९६० पछि अमेरिकाको क्यालिफोर्नियामा किवीको व्यवसायिक खेती शुरु भयो । सन् १९७४ देखि किवीफ्रुटले अन्तराष्ट्रिय पहिचान पायो ।
नेपालमा रैथानी किवी पाइएपनि खेती गरिएको एक्जोटिक प्रजाति हो । नेपालमा कहिले एक्जोटिक किवी भित्रियो एकीन छैन । केहीले सन् १९८१ मा पहिलो पटक एक्जोटिक किवी नेपाल भित्रिएको उल्लेख गरेका छन् । देशभर विस्तार हुनेक्रममा रहेको किवी अहिले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, इलाम, मकवानपुर, नुवाकोट, ताप्लेजुङ, रामेछाप लगायका जिल्लामा व्यवसायिक खेती शुरु भएको छ । अहिले नेपालमा किवीको विरुवाको माग बार्षिक २५ देखि ३० हजारसम्म रहेको छ । रोपेको ५ देखि ७ वर्षमा किवी फल्न थाल्दछ । यसले लगातार ५० वर्षसम्म फल दिन्छ ।
उत्पादन हुने हावापानी
किवीको व्यवसायिक खेतीका लागि उयुक्त हावापानी समुद्र सतहबाट १००० देखि २००० मिटरसम्मको उचाइ हो । तथापि उचित सिँचाइ र स्याहार सुसार पुगे समुद्री सतहबाट ८०० देखि २९०० मिटरसम्म यसको खेती गर्न सकिने विज्ञहरु बताउँछन् । प्राकृतिक रुपमा १६०० देखि २५०० मिटरसम्मको नेपालको पहाडी जंगलमा किवी पाइन्छ । हिउँद र सक्खा गर्मी मौसममा किवीलाई ंिसचाइको आवश्यक व्यवस्था गर्नु पर्दछ । माइनस २ डिग्रीसेन्टीग्रेड वा १० डिग्री फरेनहाइट भन्दा कम तापक्रम किवीले सहन सक्दैन । ५ देखि ६.८ पि.एच. भएको माटो विकीका लागि उपयुक्त मानिन्छ । एक बोट किवीलाई प्रतिवर्ष ५० केजी प्राङ्गरिक मल आवशयक पर्दछ । विरुवा रोप्दाको दुरी(स्पेसिङ) ६ मिटर×६ मिटर हुनु पर्दछ । प्रतिरोपनी १३ देखि १५ विरुवा रोप्नु राम्रो हुन्छ । कतिपयले प्रति रोपनी ५० बोटसम्म भनेका छन् । कम्तिमा एक बोट किवीलाई २०० वर्गफिट जमिन आवश्यक पर्दछ ।
उपोष्ण हावापानीमा हुने किवीफ्रुटले १० डिग्री फरेनहाइट भन्दा कम तापक्रम सहन सक्दैन । Actonidia arguta भन्दा Actonidia deliciosa ले चिसो सहन सक्छ । उपयुक्त हावापानी भएको अवस्थमा २२० दिनमा किवी परिवक्व भएर पाक्दछ । Actonidia arguta जातको किवी अगष्टबाटैे अमेरिकाको साउथइस्टर्न क्यारोलाइनामा पाक्ने गरेको छ । नेपाली जंगलमा पाइने किवी कार्तिक–मंसिरमा पाक्ने गर्दछ । मार्च अन्तिमबाट पाउला पलाउने किवी मध्य मेमा फुल फुल्दछ । पोथी र भाले छुट्टाछुट्टै बोट हुन भएकोले दुबै खालको किवी रोप्नु पर्दछ । १० बोट पाथी बराबर १ बोट भाले आवश्यक पर्दछ ।
रोप्ने समय
नर्सरीमा तयार गरिएको विरुवालाई पुष माघमा रोप्ने गरिएको छ । सामान्यतः रोपेको विरुवालाई तुसारोले भेट्नु हुन्न । कम्तिमा १ घनफिट गहिरो खाल्डोमा राम्रो कम्पोष्ट मल राखेर विरुवा लगाउनु पर्दछ । विऊ र कटिङ दुबै तरिकाले यसको वेर्ना उत्पादन गरिन्छ । विऊबाट तयार बृर्ना बैशाख–जेठमा रोप्नु उपयुक्त हुन्छ । रोप्दा विरुवा बीचको स्पेसिङ ६ फिट×६ फिटलाई उपयुक्त मानिन्छ । कम्तिमा ३ फिट उचाइ भएसम्म सिंगल टुप्पो हुने गरी कटनी गर्नु पर्दछ । त्यसपछि थाक्रोमाल लगाएर झ्याँगिन दिनु पर्दछ । समय समयमा आवश्यक गोडमेला, सिँचाइ, मल आदि आवश्यक हुन्छ । किवीमा खास रोग किरा अहिलेसम्म देखा परेको छैन । खेती गर्न इन्छुक किसानले तालिम लिन आवश्यक हुन्छ ।
उपयोग तथा औषधीय गुण
फलको राजा किवीलाई यार्सागुम्बा र ग्यानोडार्मा च्याउ जतिकै औषधीय गुणयुक्त मानिन्छ । किवीलाई शक्ति बद्र्धक र क्यान्सरको औषधि मानिन्छ । किवीबाट रक्सी, ब्राण्डी, वाइन, जेली, वियर, जुस, जाम आदि बनाउन सकिन्छ । किवीसँगै भित्रीबालीका रुपमा अदुवा, बेसार, कुरिलो, केरा, चिराइतो, सतुवा आदिको खेती गर्न सकिन्छ । पूर्वी नेपालमा अलैँचीलाई रोग लागेको बेला किवी खेती उत्तम दीर्घकालिन विकल्प हुने देखिन्छ ।
समुद्र सतहबाट ८०० देखि २००० मिटर उचाइको पहाडी क्षेत्रमा राम्ररी फलाउन सकिन्छ, किवी। निर्यात योग्य किवी उत्पादनका लागि १००० देखि २००० मिटर उचाइको जमिन उपयुक्त मानिन्छ । यसले यो खेतीमा नेपालको सम्भावना पनि प्रष्ट पार्दछ । नेपालको मध्य पहाडमा आलिसन र हे–टोमोरी जातका किवी गज्जबले फल्छन् । एक पटक रोपेको सात वर्षपछि फल्न शुरू गर्ने किवीले ६० वर्ष निरन्तर फल दिइरहन्छ । एक रोपनी जमिनमा ५० बोट रोप्न सकिन्छ भने एक बोटमा १०० केजीसम्म फल्छ ।
नेपालको पहाडी भेगको १० लाख हेक्टर जमिन किवीका लागि उपयुक्त छ। प्रतिरोपनी वार्षिक सरदर रु.१ लाख आय दिनसक्ने किवीसँगै बेसार, अदुवा, कुरिलोलगायतको मिश्रित खेती गर्न सकिन्छ । किवीमा अहिलेसम्म रोग–कीरा देखापरेको छैन ।
सरकारले आवश्यक प्रविधि, सिप, कर्जा र बजारको प्रवन्ध गर्नु हो भने पक्कै त्यो दिन टाढा छैन । चीनकै बजारलाई नपुग्ने स्थिति छ । फल बाहेक किवीको जाम, जुस, जेली, वाइन, मासु ‘सफेनिङ्ग’ र कस्मेटिक सामग्री बनाउन सकिन्छ, जसको राम्रो मूल्य पाइन्छ ।
धुवाँकोटमा किवी, भुँई स्याउ पछि १६५ रोपनी जग्गामा कफि रोपिदै (फोटो फिचर)
