ट्रम्प हटाउनेबारे छलफल गरेको छैन, रोजनस्टाइन

Avatar photo
Dhadingpost
अशोज ७, २०७५

वासिंगटन, असोज ७ । संयुक्त राज्य अमेरिकाका उपमहान्यायाधिवक्ता रड रोजनस्टाइनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई हटाउन आफूले संविधानको एक धारा सक्रिय बनाउने विषयमा परामर्श गरेको भन्ने विवरण अस्वीकार गरेका छन् ।

अमेरिकाका दोस्रो वरिष्ठ कानुनी अधिकारी रोजनस्टाइनले त्यस्तो समाचार उनकै शब्दमा ‘गलत र तथ्यगत रूपमा गलत’ बताएका छन् । बेनामी सुत्रलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स पत्रिकाले रोजनस्टाइनले ह्वाइट हाउसमा व्याप्त अराजकता बाहिर ल्याउन गोप्य रूपमा ट्रम्पका गतिविधि रिकर्ड गर्न सुझाव दिएको उल्लेख गरेको छ ।

संघीय अनुसन्धान ब्युरोका अधिकारीहरूसँगको छलफल तथा कुराकानीको क्रममा उनले त्यस किसिमको सुझाव दिएको ठानिएको छ। संघीय अनुसन्धान ब्युरोका पूर्वनिमित्त निर्देशक एन्डरु माक क्यावेका टिपोटहरूको आधारमा रोजनस्टाइनमाथि पछिल्ला आरोप लागेको न्युयोर्क टाइम्सले जनाएको छ ।

तर, रोजनस्टाइन बारेको सो टिप्पणी व्यंग्यात्मक भएको एक अधिकारीले बिबिसीलाई बताएका छन् । गत वर्ष राष्ट्रपति डोनल्ड ट्रम्पले संघीय अनुसन्धान ब्युरो एफबिआईका निर्देशक जेम्स कोमीलाई सो पदबाट हटाइएपछि रोजनस्टाइनले त्यस्तो प्रतिक्रिया दिएको बताइएको छ ।