के ग्यास्ट्रिक र एसिडिटी एउटै हो त ? यसका घरेलु उपायहरु

Avatar photo
Dhadingpost
अशोज ४, २०७५

असोज ४ ।  ‘ग्यास्ट्रिक’ त सबैको लागि परिचित शब्द नै हो, तर ‘एसिडिटी’ ? के हो एसिडिटी ग्यास्ट्रिक र एसिडिटी एउटै होइन र यो प्रश्न अधिकांशको मनमा उत्पन्न हुने गर्छ ।

तर, आज हामी तपाईँहरूलाई भन्छौँ कि ग्यास्ट्रिक र एसिडिटी फरक कुरा हो । हुन त दुवै पेटकै समस्या हो, दुवै पाचन प्रक्रिया सम्बन्धी समस्या हो । तर यी दुई फरक समस्या हुन् ।

ग्यास्ट्रिक

हाम्रो पेटलाई एसिडको झोलासँग तुलना गर्न सकिन्छ। त्यो झोलालाई एसिडले कुनै क्षति नगरोस् भनेर झोलाको भित्री भित्तामा सूक्ष्म कोषहरूले सुरक्षा गरिरहेको हुन्छ । साथै हामीले खाएका खानेकुरालाई पचाएर त्यसबाट चाहिने पौष्टिक तत्वहरू सोस्ने काम पनि त्यही कोषहरूले गर्छन् । अनि जब कुनै प्रकारले ब्याक्टेरियाको कारण ती कोषहरूमा क्षति पुग्छ, तब पेटभित्रको एसिडले क्षति भएको ठाउँमा असर गर्दछ र पेट पोल्ने अनि फुल्ने हुन्छ। त्यसैलाई ग्यास्ट्रिक भएको भनिन्छ ।

एसिडिटी

तथापी, एसिडिटी फरक कुरा हो । हाम्रो घाँटीबाट पेट (आमाशय) सम्म जोड्ने लामो भोजन नली हुन्छ, जसले हामीले खाएको खानालाई पेटसम्म पुर्याउने काम गर्छ । त्यो भोजन नली र पेटको जोर्नीनेर एउटा द्वार हुन्छ, जसले भोजन नलीबाट पेटमा खाना पठाउन मद्दत गर्दछ भने पेटबाट भोजन नलीतर्फ खाना वा एसिडलाई आउनबाट पनि रोक्दछ । अनि जब कुनै कारणले पेटमा भएको एसिड त्यो द्वारबाट माथि आएर भोजन नलीलाई असर गर्छ भने त्यस्तो अवस्थालाई नै ‘एसिडिटी’ भनिन्छ ।

लक्षण

ग्यास्ट्रिक हुँदा पेट फुल्ने, पोल्ने, दिसा लागेको जस्तो हुने हुन्छ भने एसिडिटी हुँदा छातीको बीच भाग पोल्ने, अमिलो डकार आउने, बान्ता होला जस्तो हुने हुन्छ । कतिपयलाई ग्यास्ट्रिकको कारण ढाड दुखाउँछ भने एसिडिटीको कारण रिँगटा लगाउँछ ।

कारण

जब हामी लामो समयसम्म भोकै बस्छौँ, तब पेटमा खानेकुरा सिद्धिन जान्छ र त्यहाँ भएको एसिडले पेटको भित्तामा असर पुर्याउँछ र ग्यास्ट्रिक हुन्छ । साथै फोहोर खानेकुरा, दूग्धपदार्थ, धेरै अमिलो(पीरो र मसालेदार खानेकुरा आदिले गर्दा ग्यास्ट्रिकको समस्या आउन सक्दछ ।

एसिडिटी हुने मूख्य कारण भनेको ग्यास्ट्रिक हो । जब हाम्रो पेटमा एसिडको मात्रा बढ्दै जान्छ, तब त्यस एसिडले पेटको भित्तामा त असर गर्छ, साथै भोजन नलीमा समेत असर पुर्याउन आउँछ र एसिडिटी हुन्छ । पेटमा धेरै एसिड कसरी हुन्छ त ? पेटमा एसिडको मात्रा बढ्नुको कारण हो प्रोटिनयुक्त खानेकुरा धेरै खानु । त्यस लगायत हामीले खाने खानेकुराहरूमा यस्ता धेरै कुराहरू हुन्छन्, जसले पेटमा एसिडको मात्रा बढाइदिन्छ र ग्यास्ट्रिकको साथै एसिडिटी निम्त्याउँछ ।

घरेलु रोकथामका उपायहरू

ग्यास्ट्रिक र एसिडिटी भनेको निको हुने समस्या होइन । यसलाई त कम मात्रै गर्न सकिन्छ । ग्यास्ट्रिकलाई कम गर्नको लागि नियमित सन्तुलित भोजन गर्नु अपरिहार्य हुन्छ । त्यसैगरी बढी चिल्लो, पिरो र अमिलो खानेकुराहरू कमि खाने बानीले पनि ग्यास्ट्रिकको समस्यामा कम गर्दछ ।