धादिङबेसी भाद्र २८ । धादिङबेसीमा माध्यामिक विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।
सुखी नेपाल समृद्ध नेपाल बाल अधिकार सबैको सरोकार राष्ट्रिय बाल दिवश २०७५ को भएको माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता २०७५मा छात्रा तर्फ एड्भान्स एकेडेमीमा अध्ययनरत प्रशंसा सिंखडा प्रथम बनेकी छिन् भने छात्र तर्फ नीलकण्ठ उ.मा.वि का अभिषेक दुवाडी प्रथम भएका थिए ।
प्रतियोगितामा छात्रा प्रशंसा सिंखडाले बल अधिकार सबैको सरोकार शिर्षकमा अनुष्टुप छन्दमा कविता लेखत तथा वाचन गरेकी थिईन ।
जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समवन्य इकाई, धादिङको आयोजनामा भएको उक्त प्रतियोगितामा छात्रा तर्फ प्रथम प्रशंसा सिंखडा (एड्भान्स एकेडेमी), द्धितिय कोइशन भण्डारी (धादिङ बोर्डिङ स्कुल) र तृतीय विपना श्रेष्ठ (नीलकण्ठ माध्यमिक विद्यालय) भएका थिए भने, छात्र तर्फ प्रथम अभिषेक दुवाडी (नीलकण्ठ माध्यमिक विद्यालय), द्धितिय कृशल तामाङ (सुनगाभा एकेडेमी) र तृतीय आर्दश खतिवडा (एड्भान्स एकेडेमी) भएका थिए ।
छात्रा र छात्रहरुले पाएको अंक स्कोरको आधारमा विद्यालयहरुलाई पनि पुरस्कृत गरिएको थियो जसमा विद्यालय तर्फ
प्रथम, नीलकण्ठ माध्यमिक विद्यालय, द्धितिय एड्भान्स एकेडेमी र तृतीय धादिङ बोर्डिङ स्कुल भएका थिए ।
यस्तो छ प्रथम भएको कविता
प्रशंसा सिंखडा एड्भान्स एकेडेमी
बल अधिकार सबैको सरोकार,
–अनुष्टुप छन्द
कहाँ होलान् बुबाआमा, अभिभावक, शिक्षक ?
जोडी ती कलिला हात, भोक माग्दैछ बालक
आकाश उसको लागि बनेछ घरको छत
घाम, पानी, हुरी आए , धेरै ऊ हुन्छ चिन्तित ।।
बरु लुगा बिना बाँच्थ्यो सीमा हुँदैन भोकको
जे जे पायो त्यही खायो, शिकार हुन्छ रोगको
कैले फलामका टुव्रmा, टिप्दै हिँड्छ बजारमा
कहिल्यै नपरोस् यस्तो हाँस्ने खेल्ने उमेरमा ।।
देवता उसको छैन छैनन् ,गुम्बा र मस्जिद
कहाँ छ उसको लागि दशै, ल्होसार वा इद ?
कहाँ हिँड्ने, कहाँ सुत्ने कहिल्यै छैन निश्चित
कहाँ छ उसको बाल, अधिकार सुनिश्चित ??
कति आए गए मान्छे, नारा घन्काउँदै यहाँ
हेर्दैछन् आश बोकेर, सडक बालबालिका
यो चल्छ कहिलेसम्म, नदेख्ने सरकार छ ?
यसरी देशको हाम्रो, भविष्य अन्धकार छ ।।
खोजेर जो बिरामी छन् भोका, नाङ्गा अशिक्षित
उधारो ओखती देऊ खानेकुरा, लगुा सित ।
साना छन् बिरुवा जस्तै, मलजल गरेपछि
ब्याज सहित तिर्नेछन् , भोलि ठुला भएपछि ।।
अरु विकल्प पाएनन् बस्छन् बनेर नोकर
तिनैलाई घृणा गर्ने, बानी हाम्रो छ आखिर
सोची कर्तव्य आफ्नै हो, शिक्षा दिक्षा दिलाउने
ए ! माली कोपिलालाई जिम्मा तिम्रो फुलाउने ।।
अभिषेक दुवाडी नीलकण्ठ माध्यमिक विद्यालय
बल अधिकार सबैको सरोकार,
बिहान मिर्मिरेदेखि
घाँस, दाउरा र कुटो कोदालोमा
जीवन अनुवाद छ ।
र छ
आफूभन्दा बोझिला भारीहरुमा
भारी
आङ्गभरि पनि छ
र छ
मनभरी पनि ।
कहिले आङ्गको भारीले थिच्छ र
शरीर घायल हुन्छ ।
कहिले मनको भारीले थिच्छ र
जीवननै घायल हुन्छ ।
गिट्टी, बालुवा
घाँस, दाउरा
सडकका मगन्ते भेषमा
अधिकारका प्रश्नहरु
झल्किएका छन् ।
बोली र कानुनमा आएका
अधिकारका गोलीले
घायल छु, कायल छु सरकार
अधिकार यथार्थमा देऊ ।
गिट्टी कुट्ने हम्मरहरु
कलममा रुपान्तरण हुन् ।
घाँस खेप्ने नाम्ला डोकाहरु
पुस्तकका पानामा बदलिउन् ।
अभावले डसेका दिलका भारीहरु
मया र प्रेमको मल्हम बनून्
र आङ्ग थिचिरहेका
मन मिचिरहेका घाउहरु
उज्याला सपनाका औषधीहरुले निको बनुन् ।
अनिमात्र हुनेछ
“ सुखी नेपाली समृद्ध नेपाल,
अनिमात्र हुनेछ
“बाल अधिकार सबैको सरोकार ।”
