धादिङमा नगर प्रमुखको विरुद्ध उप प्रमुखको पत्रकार सम्मेलन

Avatar photo
Dhadingpost
भदौ २६, २०७५

धादिङ भाद्र २६ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाको विरुद्ध उप प्रमुख मनराज भण्डारीले पत्रकार सम्मेलन गरेका छन् ।

स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको चुनावी तालमेलबाट काँग्रेसका भिम प्रसाद ढुङ्गाना र उप प्रमुखमा माओवादी केन्द्रका मनराज भण्डारीले चुनाव जितेका थिए ।

निर्वाचन पछि नगरपालिकाको हरेक गतिविधिमा मनराज भण्डारीको कार्यशैली प्रति माओवादी केन्द्र र उनका शुभन्तिकहरुले प्रश्न खडा गर्दै आएका थिए । यति सम्म कि उपप्रमुख भण्डारीले आर्थिक लेनदेन गरेकाले नगर प्रमुखले गरेका हरेक गतिविधिमा आँखा चिम्लेर सहयोग गरि रहेका समेत आरोपहरु बजारमा छताछुल्ल हुँदैआएका थिए ।

अन्ततः उप प्रमुख भण्डारीले नगर प्रमुखको कार्यशैलि प्रति मंगलबार धादिङबेसी स्थित उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै आफुलाई लाग्ने गरेको आरोपहरुलाई खण्डल गर्ने प्रयत्न गरेका छन् । नगरपालकिाको नियमित कार्य सम्पादन र जनतामा गरेका प्रतिवद्धता पूरा गर्न लागि रहँदा नगर कार्यपालिका तथा नगर सभामा विधिको शासन र स्थानीय सरकार संचालन ऐन २०७४ को आधारमा रही हामीले खेलेको भुमिका आज नगरवासीहरुमा स्थापित गर्ने कार्यमा सावित हुन नसकेको उनले बताए ।

प्रतिवद्धता पूरा गर्न लागिरहँदा नगरप्रमुखले सहमती र सहकार्यको साटो बहुमत सदस्यको साथ लिई कानुनको ठाडो उलंघन गरी एक लौटी ढंगबाट गैर कानुनी कार्यको सुरुवात गरेपछि वाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको समेत उप प्रमुख भण्डारीले बताएका थिए ।

पत्रकार सम्मेलनमा उप प्रमुख भण्डारीले सार्वजनिक गरेका असहमतिका बुँदाहरु

१. नगर शिक्षा ऐनको परिच्छेद ५ को दफा २६ को बुदा १ को ख मा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा नगर कार्यपालिकाले १ महिला सहित २ जना मनोनित गरि सिफारिस गर्ने व्यवस्था भएकोमा २०७५/२/२ गतेको नगर कार्यपालिका बैठकले विद्यालय व्यवस्थापन समितिमा २ सदस्य मनोनित सम्बन्धमा प्रमुखले उपप्रमुख र शिक्षा अधिकृत संग समन्वय गरि मनोनित गर्ने उल्लेख भएकोमा मिति २०७५/३/२० गतेको मितिमा २५ वटा विद्यालयमा नगरप्रमुखले शिक्षा अधिकृत मार्फत एकलौटी रुपमा २ सदस्य मनोनित गरि सिफारिस भएकोमा हाम्रो असहमती रहेको छ ।

२. २०७५ असार १० र ११ गते भएको नगर सभामा ३३ वटा निर्णय गरि रातो किताबमा समावेश गर्दा २०७५/३/९ गते को कार्यपालिका बैठकमा कुनै पनि प्रस्ताब माथि छलफल नगरी एकलौटी ढंगबाट निर्णय लेखी प्रमुखले निर्णय प्रमाणीत गरि रातो किताबमा समावेश गरीएकोमा असहमति जाहेर गर्दछौं ।

३. स्थानीय सरकार संचालन ऐन परिच्छेद ३ को दफा १६ को उपदफा ४ क को १२ नम्बर बुदामा नगर प्रमुख ७ दिन भन्दा बदी अनुपस्थित भएमा उपप्रमुखलाई कार्यवाहक जिम्मेवारी दिनु पर्ने उल्लेख भएकोमा विदेश भ्रमण जाँदा समेत कार्यबाहक जिम्मेवारी नदिई विदेश भ्रमण जाने प्रक्रियाप्रति आपत्तिजनक असहमति जाहेर गर्दछौं ।

४. मिति २०७५ श्रावण ३० गते विहान ७ः३० बजे नीलकण्ठ नगरपालिकाको बोर्ड बैठकमा पेश गरिएको एजेण्डा नै पूर्ण सहमति नभई बैठक स्थगित भएकोमा छलफल नै नगरिएको विषयबस्तुलाई निर्णय भएको भनी २०७५/५/२५ गतेको बैठकमा पेश हुन आएको हुँदा उक्त विषयबस्तुमा लिखित असमहती जनाउन नदिएको हुँदा लोकतन्त्रकको उपहास भएको छ ।

जस्तै,
निर्णय नम्बर ५: नगर कार्यपालिकामा रिक्त दरबन्दीहरुमा पूर्ति गर्न गठित पदपूर्ति समिति गठन प्रक्रिया प्रस्ताव बिना नै निर्णय प्रमाणित गरिएकोमा हाम्रो असहमती छ ।
निर्णय नं. ७: पूर्वाधार विकास समिति गठन प्रक्रिया नगर कार्यपालिकाको बैठकमा प्रस्ताव विना नै आफुखुसी निर्णय गरी प्रमाणित गरिएकामा हाम्रो असहमती छ ।
निर्णय नं. १४: नगरसभाबाट पारित नीति तथा कार्यक्रममा बुँदा नं. ३० मा निश्चित बजेट सिमाका योजनाहरु सार्वजनिक खरिद प्रक्रियाबाट कार्यान्वयन गर्ने नीति अबलम्बन गरिने भनी उल्लेख भए बमोजिम रु. १०,००,०००।– (अक्षरुपी दश लाख) देखी माथि विनियोजन भएका भौतिक पूर्वाधारहरुको योजनाहरु दरभाउ पत्र र बोलपत्र गरी ठेक्कापट्टाको माध्यमबाट कार्यान्वयन गर्ने निर्णयको प्रस्ताव र छलफल बिना नै निर्णय गरी प्रमाणित गरिएकोले सो निर्णय उपर पूर्ण असहमति रहन्छ ।

५. स्थानिय सरकार संचालन ऐन परिच्छेद ११ को दफा ८४ को उपदफा २ (ज)मा नगर कार्यपालिकाको निर्णय प्रमाणित गर्ने अधिकार प्रमुख प्रशासकिय अधिकृतको उल्लेख भएकोमा हालसम्मका निर्णयहरु प्रमाणित गर्दा नगरप्रमुखले नै प्रमाणित गर्ने गरेको प्रति हाम्रो असहमती छ ।

६. नगर कार्यपालिकाको बैठकको निर्णय बिना तारजाली, पाइप, बिजुलीको पोल लगायतका पूर्वाधार बिकासका सामग्रीहरु आफुखुसी वितरण गर्ने गरेको कार्यप्रति हाम्रो असहमती छ ।

७. स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १२ को खण्ड ङ बमोजिम वडा समितिबाट सम्पादन हुने सिफारिस तथा प्रमाणित गर्ने अधिकारमाथि हस्तक्षेप गरि ऐन विपरित नगरपमुखले नगरभित्रका विभिन्न आयोजनाहरुको सम्झौता र फरफारक गर्न सिफारिस गर्ने गरेको कार्य प्रति असहमति रहेको छ ।

असहमती जाहेर गर्ने जनप्रतिनिधिहरु
१. मनराज भण्डारी उपप्रमुख नीलकण्ठ नगरपालिका
२. गणेश गुरुङ वडा अध्यक्ष वडा नं. १
३. ध्वजबहादुर गुरुङ वडा अध्यक्ष वडा नं. २
४. रामकुमार श्रेष्ठ वडा अध्यक्ष वडा नं. ५
५. उद्धव रिजाल वडा अध्यक्ष वडा नं. ६
६. विजयराज इटनी वडा अध्यक्ष वडा नं. १०
७. तिलक बहादुर थापामगर वडा अध्यक्ष वडा नं. ११
८. बाबुराम लम्साल वडा अध्यक्ष वडा नं. १२
९. फन्द्रा तामाङ वडा अध्यक्ष वडा नं. १४
१०. कमला श्रेष्ठ कार्यपालिका सदस्य नीलकण्ठ नगरपालिका

नेपाली काँग्रेसको बहुमत रहेको नीलकण्ठ नगरपालिकाको कार्यपालिकामा तात्कालिन माओवादी र एमालेको १० जना मात्र कार्यपालिका सदस्य छन् ।