धादिङ, भादौ २२ । नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री स्व. विशेश्वर प्रसाद कोइरालाको १०५ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस धादिङले जिल्ला पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गर्दैछ ।
नेपाली कांग्रेसको संस्थापक नेताहरू विशेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णसमशेर जबरा, कृष्णप्रसाद भट्टराई, र गिरिजाप्रसाद कोइरालाको जन्म जयन्ती र स्मृति दिवसको अवसरपारेर विभिन्न रचनात्मक कार्यक्रमहरू गर्ने परम्परा छ । वि. स. १९७१ साल भाद्र २४ गते जन्मिनु भएका स्व. बीपी कोइरालाको प्रमुख अगुवाईमा नेपालमा तत्कालीन राणाशासनको बिरूद्धमा प्रजातन्त्र स्थापनाका लागी बि. स. २००३ सालमा नेपाली कांग्रेस पार्टीको स्थापना भएको थियो ।
नेपालमा प्रजातन्त्र स्थापना गर्ने र जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउदैं समाजवादी नीति अनुसार नेपाली जनतालाई सुखी र समृद्ध बनाउने मुल उदेश्य लिएर स्व. कोइरालाको नेतृत्वमा गठन भएको नेपाली कांग्रेस पार्टीले नेपालको विभिन्न कालखण्डमा प्रजातन्त्र र लोकतन्त्र स्थापनाको लागी गरिएको जनआन्दोलनहरूको मुल नेतृत्व गरेको थियो । स्थापनाको सात दशक पार गरिसकेको नेपाली कांग्रेस पछिल्लो समय सरकारको प्रतिपक्षमा छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङको आयोजनामा हुन लागेको चियापान कार्यक्रममा नेपाली कांग्रेस धादिङका नेता तथा कार्यकर्ताहरू, पत्रकार, कर्मचारी, उद्दोगी व्यावसायी, र सर्वसाधारणहरूको सहभागिता रहने जिल्ला सदस्य नवराज तिमल्सिनाले जानकारी दिनुभयो ।
