टुरिन, एजेन्सी भदौ १४ । स्पेनिस क्लब रियल म्याड्रिडबाट १ सय मिलियन पाउन्डमा युभेन्ट्स पुगेयता क्रिस्टियानो रोनाल्डोले गोल गर्न सकेका छैनन् ।
त्यसका वावजुद पनि टोलीको अभ्यासमा मुस्कुराउने कारण भने रोनाल्डोसँग थियो । मिसिमिलियानो एलिग्रीको टोलीले साताको अन्त्यमा पार्मासँगको खेलका लागि तयारी सुरु गरिसकेको छ ।
रोनाल्डोको गोलविना पनि युभेन्ट्सले सिजनमा सफल सुरुवात गरेको छ । इटालियन लिगका दुई खेल खेल्दा युभेन्ट्सले शतप्रतिशत नतिजा निकालेको छ । पहिलो खेलमा किएभोलाई हराएको युभेन्ट्सले शनिबार लाजियोलाई पराजित गरेको थियो । अभ्यासका दौरान रोनाल्डो, इम्री च्यानलगायतका खेलाडीले एक्रोबेटिक गोल गरेका थिए । युइएफए गोल अफ द सिजन उपाधि जितेका रोनाल्डोलाई उनका साथीहरुले बधाई दिएका थिए ।
गत वर्ष रियलबाट खेल्दा रोनाल्डोले च्याम्पियन्स लिगमा युभेन्ट्सविरुद्ध गरेको गोल नै सिजनको उत्कृष्ट गोल चुनिएको थियो । गत अप्रिलमा उनले गरेको गोलले ३ लाख ४६ हजार ९ सय १५ मत मध्ये झन्डै २ लाख मत प्राप्त गरेको थियो । तर, लिगको प्रतिद्वन्द्वी रोामाले भने उनको त्यो गोललाई लिएर खिसी गरेको छ ।
