काठमाडौँ, भदौ १३ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले पहिलो ब्याटिङ गर्दै ओमनसामु २ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिलो ब्याटिङ गरेको हो ।
नेपालले निधार्रित ५० ओभरमा ९ विकेटको क्षतिमा २२२ रन बनायो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए । अन्तिम ओभरमा रन आउट हुनअघि उनले ६ चौका र दुई छक्का हिर्काए ।
८० रनको स्थितिमा ४ विकेट गुमाएको स्थितिमा रहेको बेला पुनले आरिफ शेखसँग ९२ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई अप्ठ्यारो स्थितिबाट उकासे ।
एक छक्का र ३ चौकासहित शेखले ३६ रन बनाएर मोहमद नादिमको बलमा क्याच आउट हुँदा नेपालको स्कोर १ सय ७२ रन रहेको थियो ।
उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदै नेपाललाई राम्रो शुरुवात दिलाएका थिए । उनले ६० बलमा ६ चौका र एक छक्का हिर्काए ।
खेलको अन्त्यतिर करन केसीले विस्फोटक ब्याटिङ गर्दै नेपालको स्कोर २ सय रन पार गराए । उनले मात्र १० बलमा दुई छक्का र एक चौका हिर्काउँदै २६ रन बनाए ।
सुवास खकुरेल चार, कप्तान पारस खड्का आठ रन, दीपेन्द्र सिंह ऐरी नौ रन तथा सोमपालकामी पाँच रनमा आउट भए ।
एक दिवसीय खेलमा नेपाल र ओमन अहिलेसम्म पाँच पटक आमनेसामने भइसकेका छन् । नतिजा नेपालले पक्षमा तीन र ओमनले दुई खेलमा विजय हासिल गरेको छ ।
नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् । वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् । आजै हुने अर्को खेलमा आयोजक मलेसिया र हङ्कङ भिड्दैछन् ।
एशिया कप भने यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ ।
