एजेन्सी, भदौ १२ । पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियरले युइएफए च्याम्पियन्स लिगमा आफ्नो पूर्व क्लब बार्सिलोनासँग खेल्न नपरोस भन्ने आशय राखेका छन् ।
व्यापारिक कार्यको सिलसिलामा बार्सिलोना पुगेका नेयमारले मुन्डो डिर्पोटिभोसँगको अन्तर्वार्ताका क्रममा च्याम्पियन्स लिगमा बार्सिलोनासँग खेल्न नपरोस् भन्ने धारणा राखेका हुन् । ‘म सधैं बार्सिलोनाका साथीहरुसँग नजिक रहेको छु । मेरो बार्सिलानाका पूर्व सहकर्मीसँग राम्रो सम्बन्ध रहेको छ ।
यस सिजनको च्याम्पियन्स लिगको समूह चरणको ‘ड्र’ शुक्रबार हुँदैछ । नेयमार गतवर्ष विश्व कीर्तिमानी २२२ मिलियन पाउन्डमा पीएसजी पुगेका थिए । सन् २०१३ मा ब्राजिलियन क्लब सान्तोषबाट बार्सिलोना पुगेका नेयमारले २०१४-१५ को सिजनमा च्याम्पियन्स लिग जितेका थिए । २०१६-१७ को सिजनमा बार्सिलोनाले पीएसजीलाई पराजित गरेको थियो । अघिल्लो सिजन पीएसजी प्रि–क्वाटरफाइनलमा रियलसँग पराजित हुँदा बार्सिलोना क्वाटरफाइनलमा रोमासँग निराश बनेको थियो ।
