काठमाडौं, भदौ ११ । मिडफिल्डर निराजन खड्काले नेपाली फुटबल राष्ट्रीय टोलीमा पुनरागमन गरेका छन् ।
पछिल्लो पटक सन् २०१३ मा भएको साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेका उनि त्यसपछि राष्ट्रिय टोलीमा परेका थिएनन् ।
सोमबार प्रशिक्षक बालगोपाल महर्जनले साफ च्याम्पियनसिप २०१८ का लागि घोषणा गरेको अन्तिम २० मा उनले स्थान बनाएका हुन् । पछिल्लो समय घरेलु फुटबलमा राम्रो प्रदर्शन गर्दै आएका उनले थ्री स्टार क्लबको कप्तानी पनि सम्हाल्दै आएका छन् । थ्री स्टार क्लबका नियमित कप्तान विक्रम लामा केहि महिनाअघि बुढासुब्बा गोल्डकप दौरान घाइते भएपछि उनले कप्तानी सम्हालेका थिए । क्लब फुटबलमा लगातार राम्रो प्रदर्शन गरेपछि उनले राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा नाम बनाएका थिए ।
पछिल्लो पटक एएफसी च्यालेन्ज कप २०१२ मा राष्ट्रिय टोलीबाट खेलेका उनले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा निकै उत्साहित रहेको बताए । ‘मैले पछिल्लो दुई वर्ष राष्ट्रिय टोलीमा फर्कन निकै मिहिनेत गरेको छु । लगातार मिहिनेत गरेपछि सफल हुन सकिन्छ भन्ने मलाई थाहा थियो । अब राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्ने मेरो लक्ष्य हुनेछ,’ खड्काले हाम्रो खेलकुदसँग भने ।
टोलीमा सिनियर खेलाडी रहेका कारण अझै मिहिनेत गर्नुपर्ने उनको बुझाई छ । ‘अहिलेको टोलीमा सिनियर खेलाडीको रुपमा रहेको छु । यसले मबाट धेरै अपेक्षा पनि हुनसक्छ । त्यसमा खरो उत्रन म आफ्नो सक्दो प्रयास गर्नेछु ,’ उनले थपे ।
नेपाली टोलीको कप्तानमा विराज महर्जन चुनिएका छन् । नेपालको समूहमा आयोजक बंगलादेशसँगै पाकिस्तान र भुटान रहेका छन् । नेपालले उद्घाटन खेलमा पाकिस्तानको सामना गर्नेछ । त्यसपछि भुटान र बंगालदेशसँग प्रतिसपर्धा गर्नेछ । अर्को समूहमा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।
