एजेन्सी, भदौ ८ । साउदी र युएईको सैन्य गठबन्धनको हवाई रेडमा परी दर्जनौं नागरिकहरु मारिएको र मर्नेमा धेरै बालबालिकाहरु रहेको बताएका छन् ।
यस पछिल्लो हवाई रेडको दुई हप्ता अघि साउदी नेतृत्वको गठबन्धनकै हवाई हमलामा परी ४० जना बालबालिकाहरु स्कुल बसमा मारिएका थिए ।
साउदी र युएइ गठबन्धन यमनमा अन्तराष्ट्रियरुपमा पहिचान पाएका राष्ट्रपति अबु रब्बु मनसौर हादीको सरकारलाई पुर्नस्थापना गर्न चाहान्छ ।
२०१४ मा राष्ट्रपति हादी र उनको समर्थनमा रहेका फौजलाई हुथी विद्रोहीहरुले बाहिर्याएका थिए । हाल हुथीले उत्तरी यमन र राजधानी सानामाथि कब्जा गरेर बसेको छ ।
हुथी क्रान्तिको अल मासिराह टिभीका अनुसार यो पछिल्लो हवाई रेड बिहीबार भएको हो । रेडमा परी २२ बालबालिकाहरु र चारजना महिलाहरु मारिएका छन् । गठबन्धनको लडाकू जेट विमानले अद दुराहिमी क्षेत्रमा विस्थापित भएका नागरिकहरु बस्दै आएको शिविरलाई लक्षित गरी हमला गरेको थियो । हमला भएको उक्त क्षेत्र रेड समुन्द्रको शहर हुदेदाहभन्दा २० किमी टाढा पर्छ ।
अमेरिकाको समर्थनमा साउदी र युएईको गठबन्धन सैनिकले मार्च २०१५ देखि यमनमा हमला गर्दै आइरहेको छ ।
