काठमाडौं, भदौ ६ । अत्यावश्यक वस्तु तरकारी बिक्रीवितरणमा हडताल गरेर कालीमाटी तरकारी बजारका व्यापारीले दादागिरी’ देखाएका छन् ।
कालीमाटीबाट तरकारी कारोबार नभएपछि त्यसको असर उपत्यकाका अन्य बजारमा परेको छ । विगतको तुलनामा निकै कम आपूर्ति भएपछि उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएका छन् । व्यापारीले किसानसँग खरिद गरेभन्दा तीन गुणा बढी मूल्यमा तरकारी बेचेर उपभोक्ता ठगेको सरकारी अधिकारीको भनाइ छ ।
सरकारले अनुगमन गर्दा ‘धरपकड’ को बहाना बनाएर विरोधमा उत्रिएका व्यापारीले तरकारी तथा फलफूल आपूर्ति रोकेका छन् । बजार अनुगमनमा अवरोध र हुलहुज्जत गरेको आरोपमा प्रहरीले कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संघका महासचिव भरत खतिवडालाई पक्राउ गरेपछि व्यापारी विरोधमा उत्रिएका हुन् । कालीमाटी बजारबाट दैनिक साढे छ सय टन तरकारी बिक्री हुँदै आएकोमा मंगलबार न्यून कारोबार भयो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हडताल नरोके व्यापारीमाथि कारबाही गर्ने चेतावनी दिएको छ । तरकारी तथा फलफूल वितरणमा निरन्तर अवरोध सिर्जना गरे कालीमाटी तरकारी बजारमा व्यवसायीसँग भएको सम्झौता तोड्ने मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए । ‘कालीमाटीका तरकारी व्यापारीले बिक्री रोक्ने निन्दनीय काम गरेर दादागिरी देखाएका छन्,’ ढकालले भने, ‘हडताललाई निरन्तरता दिए कडा कारबाही गर्छौं ।
किसानसँग खरिद गरेभन्दा तीन गुणा बढी मूल्यमा तरकारी बिक्री गरेको सूचनाका आधारमा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले सोमबार कालीमाटी तरकारी बजारमा अनुगमन गरेको थियो । अनुगमन टोलीले एक व्यवसायीसहित ना४च ६६३४ र बा६च ६४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको थियो ।
सरकारले अनुगमन गर्दा विरोधमा उत्रिनु अस्वाभाविक भएको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । तरकारी बजारमा देखिएका बेथिति हटाएर बजार व्यवस्थित बनाउन पहल भइरहको छ । ‘बजारमा देखिएका कमीकमजोरी सुधार गरेर अघि बढ्नुपर्छ,’ सुवेदीले भने। ‘व्यवस्थित गर्न अनुगमन सूचक बनाउँछौं ।’ बजार बन्द गर्नुभन्दा खुलाएर समस्याको निकास निकालिने उनले बताए ।
