इटहरी, भदौ ३ । वर्ल्डवाइड टेक्निकल संस्थाले सन् २०१४ देखि २०१९ भित्रमा नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गरी श्रम बजारमा आपूर्ति गर्ने लक्ष्य लिएको बताएको छ ।
अन्तर्क्रिया कार्यक्रममा सहभागी भएका सुनसरी, मोरङ र झापा जिल्लाका सेवा प्रदायक निजी संस्थाले सीपसहितको दक्ष जनशक्ति आपूर्तिकर्ता संस्थाबीच आवश्यकताको सिद्धान्तमा आधारित रहेर सीपयुक्त दक्ष जनशक्ति उत्पादनको पाठ्यक्रम हुनुपर्नेमा जोड दिएको छ ।
उक्त अन्तर्क्रिया कार्यक्रममा पूर्वाञ्चल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र इटहरीका निर्देशक शिव दाहालले बजारको आवश्यकता र श्रम बजारले चाहेका दक्ष जनशक्ति उत्पादन गर्नका लागि पछिल्लो समयमा जे–जस्ता परिवर्तनको माग आउँछन् त्यहीअनुसार पाठ्यक्रम परिमार्जन गर्न सिटिइभिटी तयार हुने विश्वास दिलाए ।
अन्तर्क्रिया कार्यक्रममा वल्डवाइड संस्थाका अध्यक्ष नारायणबाबु श्रेष्ठले सीप भएका दक्ष जनशक्ति उत्पादन गर्दै सेवा प्रदायक संस्थाबीचमा सहकार्य गरेर नेपालको श्रम बजारलाई मजबुद बनाउनका लागि आपसी सहकार्य हुन जरुरी रहेको छ बताए ।
वर्ल्डवाइडले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी) को सहकार्यमा भइरहेको सीप विकास परियोजना कार्यक्रमका विषयमा शनिबार इटहरीमा सम्बन्धित सरोकार भएकासँग एकदिने अन्तर्क्रिया कार्यक्रममा सो कुराको जानकारी गराएको हो ।
नेपाली श्रम बजारमा रोजगारीको अवसर छ, तर दक्ष जनशक्तिको आपूर्तिको अभाव छ भन्ने विषयसँग तालमेल गर्दै आपसमा रोजगार प्रवर्धनमा कसरी सँगसँगै मिलेर काम गर्न सकिन्छ भन्ने निर्क्योल निकाल्न उक्त अन्तर्क्रिया आयोजना गरिएको हो ।
