काठमाडौ, भदौ १ । एलर्जीका कारण लााग्ने रुघा दुई प्रकारका हुन्छन् । त्यसमध्ये एउटा हो, मौसमी । यस्तो समस्या विशेषगरी मौसम परिवर्तनको समयमा देखा पर्छ ।
यसको अर्को प्रकार हो, बाह्रमासे । यस्तो समस्याको लक्षण भने वर्षभरि नै देखिने गर्छ ।
कारण
श्वासप्रश्वासका क्रममा मुखबाट एलर्जिक तत्वहरू छिर्ने गर्छन् । प्रायः यस्ता तत्व रुख, बिरुवा, घाँसका पातमा हुन्छन् । मौसमअनुसार पराग उत्पादनमा परिवर्तन हुने भएकाले कसैकसैलाई मौसमी एलर्जीको रुघाले सताउने गर्छ ।
कतिपयमा यस्तो एलर्जीको रुघा आनुवंशिक पनि हुन्छ । यस्तो अवस्थामा समस्या पुस्तान्तरण हुन्छ ।
परागबाहेक कसैकसैलाई बदाम, माछा, समुद्री माछा आदिले पनि एलर्जी बनाउने गर्छ ।
विभिन्न औषधिको प्रयोगले पनि कसैलाई यस्तो समस्या हुन्छ । उच्च रक्तचाप, परिवार नियोजनका औषधिले कतिपयलाई एलर्जी र त्यसपछि रुघाको समस्या हुन सक्छ ।
हावाको प्रदूषण पनि यस्तो एलर्जीको प्रमुख कारक तत्व मध्येमा पर्छ ।
जटिलता
यस्तो समस्या विकसित हुँदै गएमा विभिन्न जटिलता निम्तिन सक्छ । कतिमा यस्तो समस्या आवर्तक पिनासको रूपमा विकास हुन्छ ।
यस्तो समस्या विकसित हुँदा नाकमा मासु पलाउन पनि सक्छ ।
यसले कान पाक्ने सम्भावना पनि बढाउँछ ।
एलर्जीबाट हुने रुघाकै कारण दाँतसम्बन्धी विभिन्न समस्या पनि देखिने गर्छ ।

