उत्तम वि.क.
देशमा यतिबेला वामपन्थीहरुको बहुमतको सरकार छ । नेपालको इतिहास मै पहिलो पटक वामपन्थीहरुको बहुमतको सरकार भएको बेला शताब्दीऔं देखिको राजनैतिक कुसस्कारको अन्त्य गर्न पनि अहिलेको सरकार सक्षम हुनेमा नेपाली जनताहरु आशावादी देखिन्छन ।
देशमा अमन–चयन र सुशासनको लागी बहुमतिय सरकारले केहि नयाँ काम गरोस भन्ने नेपाली जनताको चाहना छ । अल्पमतिय सरकार र राजनैतिक किचलोको कारण दिक्क भएका नेपाली जनतालाई बहुमतको सरकार बनेपछि केही राहत मिलेको अनुमान गर्न सकिन्छ । बिकासका काम देखि लिएर जनताको लागी नेपाल सरकार मार्फत गरिने सानो तिनो कामको लागी समेत राजनैतिक हस्तक्षेप गर्ने र आफु अनुकुल काम नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार गिराउने राजनैतिक फोहोरी खेलमा लाग्ने धुन्धुकारीहरुलाई बहुमतिय सरकार बनेपछि गतिलो झापट मिलेको अनुभव नेपाली जनताले गरेका छन् ।
नेपालको ईतिहासमा राणा शासन र निरंकुश राजतन्त्रको अन्त्य गर्नको लागी नेपाली जनताहरुले गरेका बिभिन्न समयका आन्दोलन, दशबर्षे जनयुद्ध, मधेश आन्दोलन लगायतमा धेरै नेपाली जनताले आफ्नो ज्यानको बलिदान दिएका छन् भने हजारौं ब्यक्तिहरु अहिले सम्म अपांग छन् । उनीहरुको योगदानको अहिलेसम्म खासै कदर भएको देखिदैन । साधारण सहयोग र आश्वासन बाहेक ठोस खालको नीति नियम बनाउन कुनै पनि निकाय सक्रिय भएको देखिदैन के जनताको योगदानको मुल्यांकन अहिलेको बहुमतको सरकारले पनि गर्न सक्दैन त ? यदि सक्छ भने नेपाली जनताको माग अनुसार काम अहिलेको सरकारले गर्नुपर्छ ।
देश परिबर्तनको दिशामा अगाडी बढिसकेको छ । नेपाली जनता सचेत भईसकेका छन । देश देखि बिदेशसम्म रहेका नेपालीहरुमा परिवर्तनका सोचहरु पलाएको यो बेलामा बहुमतको सरकारले केहि नयाँ काम गरेर देखाउन सके मात्र बहुमतको सरकारको अस्तित्व जोगिने छ ।
जब देशमा बहुमतको सरकार बन्यो नेपाली जनताले राहतको महशुस गरे तर बिडम्बना देशमा हत्या, हिंसा, बलत्कार, ठगी, दलाली करणको अन्त्य हुन सकेन । देशको बिभिन्न भागमा दिन दहाड ैबालिकाहरु बलात्कार हुन थाले । मानव तस्करहरुले नेपाली दिदी बहिनीहरु प्रतिबन्धित मुलुकहरुमा बेचिरहेका छन् । दिनै जस्तो मानव अपहरण देखि हत्या, हिंसा हुने गरेको छ ।
यस्ता जघन्य अपराधीहरुलाई सर्बस्व सहित जन्मकैद हुनुपर्छ । मानिसको जिउन पाउने अधिकारको सुनिश्चित सरकारले गर्नुपर्छ । जनतालाई हाम्रो देशमा पनि सरकार र कानुन छ भन्ने महशुस गराउन सक्नुपर्छ । देशमा रहेको बिकृति र बिसंगतिको अन्त्यगर्दै समुन्नत नेपाल निर्माणको लागी नेपाली जनतालाई अग्रसर गराउन नेपाल सरकार र सम्बन्धित निकायले जिम्मेवार भुमिका खेल्नु पर्ने देखिन्छ ।
अहिले नेपालको तात्कालिन अबस्थालाई हेर्ने हो भने विभिन्न खाले अपराधको अन्त्य गर्नको लागी नेपालको संबिधानलाई संसोधन गरेर केहि महत्वपुर्ण बुँदाहरु थप्नु पर्ने देखिन्छ । जस्तै मानव बेचविखान तथा अपहरण गर्ने अपराधी र वालिकालाई बलत्कार गर्ने अपराधीलाई मृत्युदण्डको सजाय दिने कानुन बनाउनु पर्छ ।
बारम्बार आफु अनुकुल बिधानहरु संसोधन गरिनु पर्ने माग राखेर सदन अवरुद्ध गर्ने सांसदहरुले यो बिषयको प्रस्ताब सदनमा किन उठाउन सकेनन ? के जनताले आफ्नो अमुल्य मत दिएर सांसद बनाएको आफ्नो स्वार्थ पुरा गर्नको लागी मात्रै हो ? हैन भने जनताको पक्षमा जनताकै प्रतिनीधिहरुले कहिले बोल्ने ? सत्ता र भत्ताको लागी जनताले अमुल्य मत दिएका हैनन जनताको लागी चुनिएका प्रतिनिधिहरुले जनताको पक्षमा पनि सोच्न आवश्यक छ । कानुन संसोधन र कडाईको साथ लागु गर्न सके देशमा शान्ति स्थापना हुने र बिकासको मुल फुटनेमा दुईमत नहोला ।
देशको बागडोर सम्हालेका सिमित ब्यक्तिहरुले देशको लागी सोच्दा त धेरै परिबर्तन भए भने सबैले छातिमा हात राखेर म देश र जनताको लागि केहि गर्छु भन्ने हो भने नेपाल विश्वको नमुना राष्ट्रबन्नेमा कुनै शंका छैन । नीति र नियम कडाइका साथलागु भएका राष्ट्रहरु दश पन्ध्र बर्षको अन्तरालमा विकासको फड्को मार्न सफल भएका धेरै उदाहरणहरु जनताको प्रतिनिधिहरुलाई थाहा नभएको हैन तर कसरी हुन्छ आफै लगाउ र आफै खाउ भन्ने व्यक्तिगत स्वार्थको कारण आजसम्म देश बिकसित बन्न नसकेको हो ।
निःस्वार्थ भावना भएको जन प्रतिनीधि हुने हो भने देशमा परिवर्तन हुन्छ भन्ने सोच जनतामा पलाएको अबस्थामा वामपन्थीहरुको बहुमतको सरकार हुदा झनै सुनमा सुगन्ध भएको छ । यो अवस्थामा अहिलेको वामपन्थीको बहुमतिय सरकारले केहि उदाहरणिय काम गर्न जरुरी देखिन्छ ।
देशमा बिगत लामो समय देखि हुने गरेको दलाल कर्मचारी तन्त्रको अन्त्य गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ । दलाल कर्मचारी तन्त्रको कारण सोझा सिधा नेपाली जनता दिन प्रती दिन ठगिने गरेका छन त्यस तर्फ सम्बन्धित निकायले ध्यान दिने हो भने केहि हद सम्म सुधार भएर जनताले राहत पाउने थिए कि यतातिर वामपन्थी सरकारको ध्यानकर्षण हुन जरुरी छ ।
अन्तमा जात–जाति, धर्म, संस्कृति बिरुद्ध समाजमा अफवाह फैलाउनेलाई लाखौं जरिवाना र दश बर्ष जेल सजाय सदनबाट पारित गरेर ब्यबहारमा लागु गरिनुपर्छ जसले समाजमा रहेको सामाजिक बिकृतिको अन्त्य गर्न मद्धत पुराउने छ । मानव तस्कर, हत्यारा, अपहरणकारीलाई मृत्युदण्डको व्यवस्था हुनुपर्छ जसको डरले समाजमा अपराधन होस । बैदेशिक रोजगारमा रहेका नेपालीहरुको कमाई स्वदेशमा लगानी गर्ने ग्यारेन्टी सरकारले लिएर स्वरोजगार बन्ने ब्यबस्था सरकारले गरे दक्ष जनशक्तिको अभाव हुदैन र देश विकासमा टेवा पुग्नेछ ।
राज्यले जनतालाई सेवा सुविधा दिएर आवश्यक मात्रामा कर लगाउने हो भने जनताले स्वच्छिक कर तिर्ने छन जसको हिसाब किताव पारदर्शी राखेर देश विकासको काममा लगानी गरे भ्रष्टाचारको अन्त्य गर्न सहयोग पुग्नेछ । जनताको ठुलो संघर्षपछि देशमा कम्युनिष्टको बहुमतको सरकार बन्न सफल भएको छ यो सरकारले देशमा आमुल परिवर्तन गरेर विकसित राष्ट्र नेपाल भन्ने सन्देश विश्वभरी फैलाउन सकोस नेपाल र नेपाली जनताको चाहना विकास र समुन्नत नेपालको परिकल्पना पुरा हुन सकोस ।
