बिरामी नजाँच्ने डाक्टरको चेतावनी किन ? यस्तो छ भदौ १ देखि लागू हुने कानुन

Avatar photo
Dhadingpost
साउन २९, २०७५

काठमाडौँ, साउन २९ । फौजदारी संहिता भदौ १ देखि कार्यान्वयनमा आउँदैछ। उक्त व्यवस्था संशोधन नगरी कार्यान्वयनमा आए बिरामी नजाँच्ने चिकित्सकहरुको चेतावनी छ ।

एक वर्षअघि पारित भई कार्यान्वयनको चरणमा रहेको मुलुकी फौजदारी संहिताको विषयलाई लिएर चिकित्सकहरूले हालै बिरामी नजाँच्नेसम्मका चेतावनी दिएका छन् ।

चिकित्सकहरूले आफूहरूलाई अपराधी सरह व्यवहार गर्नेगरि फौजदारी कसुरमा कारबाहीको व्यवस्था गरेर कानुन बनाइएको भन्दै त्यसको विरोध गरेका हुन् ।

तर, फौजदारी संहिताले भने इजाजत नलिई उपचार गरेमा त्यस्ता चिकित्सकलाई जन्मकैद सरहको कारबाहीको व्यवस्था गरेको छ। बदनियतपूर्ण र हेलचक्र्याइँ गरी उपचार गर्दा ज्यान गए वा अंगभंग भएमा पनि कारबाहीको व्यवस्था गरिएको छ ।

यी हुन् कसुर र सजाय

इजाजत नलिई सेवा दिन नमिल्ने
मुलुकी अपराध संहिताको परिच्छेद १९ मा इजालसम्बन्धी कसुरको व्यवस्था गरिएको छ ।

परिच्छेद १९ को दफा २३० मा इजाजत प्राप्त गरेको व्यक्ति बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरीरको कुनै अङ्गको चिरफार गर्न, कुनै प्रकारको औषधि खुवाउन वा खान सिफारिस गर्न वा अन्य कुनै प्रकारले इलाज गर्न नहुने व्यवस्था छ ।

यसरी इजाजत नलिएको चिकित्सकले चिकित्सा सेवा दिँदा, चिरफार गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान गएमा त्यस्ता चिकित्सकलाई जन्म कैद हुने व्यवस्था संहिताले गरेको छ। संहिता अनुसार जन्मकैदको कसुर २५ वर्षको हुनेछ ।

बदनियत चिताई इलाज गर्न नहुने

संहिताको दफा २३१ ले चिकित्सकले बदनियत चिताइ उपचार गरेमा ज्यान मारे सरह कारबाही हुने व्यवस्था छ । यस्ता उपचारबाट बिरामीको अंगभंग भएमा १५ वर्षसम्म कैद हुनेछ ।

संहिताले बदनियत चिताइ गरिएको उपचारको परिभाषा पनि गरेको छ। जसमा उपचार गर्दा वा औषधि खुवाउँदा ज्यान जान सक्ने सम्भावित कुरा थाहा पाउँदा पाउँदै पनि गरिने उपचार र सिफारिसलाई समेटिएको छ । यस्तै, कुनै एक अंगको चिरफार गर्नुपर्नेमा अर्को अंग चिर्ने वा अंग अलग गर्ने विषय पनि समेटिएको छ ।

यस्तै, दफा २३२ ले लापरबाहीपूर्वक उपचार गरी बिरामीको अंगभंग भएमा वा ज्यान गएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । हेलचक्र्याइँपूर्ण उपचारबाट बिरामीको ज्यान गएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

संहिताले मन्जुरी बिनाको शरीर परीक्षण, जोखिमपूर्ण औषधि बिक्री वितरण, औषधिमा मिसावट गर्न वा मिसावट गरेको औषधि बिक्री गर्न प्रतिबन्ध गरेको छ। त्यस्तो औषधिबाट ज्यान गएमा ज्यान मारे सरह नै सजाय हुनेछ। औषधिकै कारण अंगभंग भएमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ। म्याद नाघेको औषधिको विक्री वितरणलाई पनि कसुर मानेको छ । प्रयोगशाला परीक्षणको झुटो प्रतिवेदन दिएमा पनि चिकित्सकमाथि कारबाही हुने व्यवस्था संहिताले गरेको छ ।

यस्ता कसुर कसुरदारले नै पीडितलाई वा पीडितका हकवालालाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था छ । चिकित्सकको लापरबाहीले ज्यान गएको मुद्दामा मुद्दा लाग्ने हदम्याद तोकिएको छैन ।