काठमाडौं, साउन २९ । नेकपा मसालले गरिब परिचयपत्र वितरणमा भ्रष्टाचार भएको ठहर गरेको छ ।
हालै बसेको केन्द्रीय समिति बैठकले गरिबी निवारणको मूल उद्देश्य विपरित काम भइरहेको ठहर गर्दै त्यसको छानबिन गर्न माग गरेको छ ।
यसैगरी मसालले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पक्राउ गरिएकोमा पनि विरोध जनाएको छ । ‘शान्तिपूर्ण तरिकाले विभिन्न प्रकारका कार्यक्रहरू सञ्चालन गर्नका लागि संविधानले नै मौलिक अधिकार प्रदान गरेको छ । त्यो अधिकारमा समेत आघात पुग्ने गरी कसैलाई गिरफ्तार गर्दा कुनै नागरिकको संविधानले प्रदान गरेको मौलिक अधिकार समेतमाथि आघात पुग्दछ । त्यसैले हामीले का। विश्वकर्माको शीघ्र रिहाईको माग गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।
तथ्यांक लिँदा गरिब घर परिवार छुटेको तर धनी व्यक्ति गरिबको सूचीमा परेको ठहर गर्दै मसालले विज्ञप्ति निकालेर भनेको छ, ‘अनियमिततालाई छानवीन गरी गरिबहरूलाई मात्र गरिब परिचयपत्रको वितरण गर्ने प्रभावशाली व्यवस्था गर्न हाम्रो पार्टी सरकारको ध्यान आकषिर्त गर्न चाहन्छ ।’
प्रादेशिक संरचनाको कारण करको भार
मसालले करको भार पर्नुमा संघीयताको प्रादेशिक संरचना नै जिम्मेवार रहेको ठहर गर्दै संघीयता वा मुख्यतः त्यसको प्रादेशिक संरचनालाई खारेज गर्न माग गरेको छ । ‘त्यो संरचना कायम रहँदासम्म एकातिर, जनतामाथिको कर झन् बढ्दै जानेछ र अर्कातिर, विकास कार्यक्रमहरू पनि झन् कुण्ठित हुँदै जानेछन् भन्ने हाम्रो पार्टीको निष्कर्ष छ,’ बैठकका निर्णयबारे जानकारी दिन जारी गरिएको विज्ञप्तिमा लेखिएको छ ।
राजनीतिक प्रतिवेदन र संठनात्मक प्रस्तावबारे भिन्न मतका प्रस्तावहरू पनि बैठकमा प्रस्तुत भएका थिए । केन्द्रीय समितिद्वारा पारित तथा अल्पमतका सबै प्रस्तावहरू छलफलका लागि पार्टीका सबै समितिहरूमा पठाइने मसालले जनाएको छ ।
यही साउन १८ देखि २७ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले आगामी आठौं महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, न्यूनतम कार्यक्रमसम्बन्धी संशोधन प्रस्ताव, विधानसम्बन्धी संशोधन प्रस्ताव, संगठनात्मक प्रस्ताव र जाति, संस्कृति र धर्मसम्बन्धी प्रस्तावका मस्यौदा दस्तावेजहरू स्वीकृत गरेको छ ।
