एजेनसी, साउन २८ । सिरियाको इड्लीब प्रान्तस्थित एउटा भवनमा भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।
इड्लीबको सार्मदा नगरस्थित विद्रोही नियन्त्रित भवनमा भएको विस्फोटमा १२ जना बालबालिकासहित ३९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले उल्लेख गरेको छ ।
विस्फोटबाट सो भवन पुरै भग्नावशेषमा परिणत भएको छ। भवनमा आश्रय लिएर बसिरहेका अधिकांश मानिस सिरियाको मध्यहोम्स प्रान्तबाट विस्थापित भएर आएकाहरु भएको बताइएको छ ।
सिरियाली सरकारले विद्रोहीले कब्जा गरेका अन्य क्षेत्रमा कारबाही तिव्र पारेर आफ्नो नियन्त्रणमा लिइसकेको छ । रुस तथा इरानको समर्थन पाएको सिरियाली सरकारले इड्लीबलाई पनि नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।
सो भवनमा एक जना हतियार तस्करले हतियार भण्डारण गरेको बताइएको छ । विस्फोटमा परी अझै दर्जनौं मानिस हराइरहेको अधिकारीहरुले जनाएका छन् ।
