आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै

Avatar photo
Dhadingpost
साउन २७, २०७५

काठमाडौं, साउन २७ । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आइतवार विश्वभर १९ औंँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै छ ।

नेपालको सन्दर्भमा हरेक वर्ष करीब पाँच लाख युवा श्रम बजारमा आउने गर्छन् । वैदेशिक रोजगारीमा जाने युवाले कठिन र जोखिमपूर्ण काम गर्नुपरेको छ । बैदेशिक रोजगारीमा जाने नेपाली युवाको अवस्थासँग जोडेर हेर्दा नारा निकै सान्दर्भिक समेत देखिन्छ ।

नेपाली समाजमा रहेको संरचनात्मक विभदेका कारण धेरै युवा विभेद र शोषणको अवस्थामा छन्, खत्रीले भने, ‘यस्तो अवस्थामा उनीहरूले सुरक्षित वातावरणको अनुभूति गर्न पाउने सम्भावना रहँदैन् ।’

रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्यसको सुधारका लागि विश्व समुदायको ध्यानाष्कृट गर्ने उद्देश्यले यो नारा तय गरिएको हो ।

सार्वजनिक कार्यक्रममा युवाको सम्मानपूर्वक सहभागितालाई जोड्दै युवा दिवसको नारा तय गरिएको राष्ट्रिय युवा नीति– २०७२ तथा युथ भिजन–२०२५ निर्माण कार्यदलका सदस्य प्रदीप परियारले बताए ।

परियारका अनुसार नेपाली परिवेशमा युवा महिलाको हकमा यसपटकको नारा अझ बढी सान्दर्भिक छ । नेपालका किशोरी र युवा महिलाले धेरै समस्या झेल्नुपरेको प्रसङ्ग उठाउँदै उनले भने, ‘युवा महिलालाई सुरक्षित वातावरण कसरी दिन सकिन्छ भन्नेमा केन्द्रित हुन सके अझ राम्रो हुने थियो ।’