रुसमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

Avatar photo
Dhadingpost
साउन २४, २०७५

काठमाडौं, साउन २४ । बेलायतमा गत मार्चमा पूर्वजासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई विषबाट भएको आक्रमणमा रुसको संलग्नता पुष्टि भएको भन्दै अमेरिकाले प्रतिबन्धको तयारी गरेको छ ।

रुसमाथिको यो पछिल्लो प्रतिबन्ध अगष्टको अन्त्यबाट लागु हुने बताइएको छ । नयाँ प्रतिबन्धमा इलेक्ट्रोनिकलगायत प्राविधिक सामानहरुको निर्यात पर्छन् ।

गत मार्चमा रुसका पूर्वगुप्तचर सेर्गेई र उनकी छोरीमाथि बेलायतको साल्सबरीमा विषालु ग्यास आक्रमण भएको थियो । जसबाट गम्भीर बिरामी परेका उनीहरु लामो उपचारपछि निको भएका थिए ।

अमेरिकी विदेश मन्त्रालयको राज्य विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्व जासुसमाथिको आक्रमणमा रुस दोषी देखिएकाले प्रतिबन्ध कार्यान्वयन हुने जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । आपसी तिक्तता मेटाउन दुवै देशका राष्ट्रपति सक्रिय बनिरहेका बेला विकसित भएको घटनाक्रमले दुई देशबीचको सम्बन्धलाई कता मोड्ने हो चासोका साथ हेरिएको छ ।

यो घटनापछि आक्रोसित भएको ट्रम्प प्रशासनले ५ दर्जन रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । विशेष गरी रिपब्लिकन सांसदहरुले रुसले अन्तर्राष्ट्रिय कानून तोडेर रसायनिक हतियार प्रयोग गरेकाले प्रतिबन्धको माग गर्दै आएका थिए । यहीबीच अमेरिकी विदेश मन्त्रालयले रुसले १९९१ को कानून तोडेको औपचारिक रुपमा बताएको हो ।