अबिरल वर्षका कारण सुकुम्बासी बस्ती डुबानमा

Avatar photo
Dhadingpost
साउन २१, २०७५

काठमाडौं, साउन २० । अबिरल वर्षाका कारण काठमाडौं, ललितपुर, भक्तपुर र टेकुका सुकुम्बासी बस्ती डुबानमा परेका छन् ।

शान्तिनगर, बानेश्वर, बल्खु, टेकुका सुकुम्बासी बस्ती डुबानले बढी प्रभावित भएका छन् ।

शान्तिनगरका १५–२० घर डुबानमा परेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा विपत व्यवस्थापनको टोली परिचालन गरिएको छ ।

प्रहरीका अनुसार बल्खुको सुकुम्बारी बस्तीमा दुई–तीन घर डुबेका र पाँच–छ घर जोखिममा परेका छन् ।

भैंसेपाटीको सपिङ सेन्टर पनि डुबानमा
ललितपुरको गोदावरी खोला किनारका केही क्षेत्र पनि डुबानको खतरा रहेकाले सतर्कता अपनाइएको छ ।

ललितपुरको सैंबु भैंसेपाटीस्थित बिगमार्ट सपिङ सेन्टरमा पनि पानी पसेको छ । स्थानीय प्रहरीको सहयोगमा सपिङ सेन्टरका सामानहरु सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिए ।

होचा भू–भाग डुबानमा पर्ने खतरा

मौसम विज्ञान बिभाग अन्तर्गतको बाढी सूचना केन्द्रले दिएको जानकारी अनुसार बाग्मती–खोकना बाढी केन्द्रमा पानीको बहाव सतर्कता तहभन्दा माथि छ र यो बढ्दो क्रममा छ ।

त्यसैले काठमाडौं, ललितपुर र भक्तपुरका होचा भूभाग डुबानमा पर्न सक्ने भएकाले सतर्क रहन केन्द्रले अपिल गरेको छ ।