गाउँपालिकाको जग्गा विवाद अदालतसम्म

Avatar photo
Dhadingpost
साउन २०, २०७५

मनिष दुवाडी
धादिङ साउन २० ।
नेत्रावती डापजोङ गाउँपालिकाले गाउँ कार्यपालिकाको भवन र कार्यालय प्रयोजनका लागि लिएको जग्गा विवाद अदालतसम्म पुगेको छ। परिवारको सहमतिबिना सबै जग्गा गाउँपालिकालाई दिएको भन्दै जग्गादाताका छोराहरू र पत्नीले चार भागको तीन भाग जग्गा बदर गरिदिन माग गर्दै जिल्ला अदालत धादिङमा मुद्धा दायर गरेपछि जग्गा विवाद सतहमा आएको हो ।

गाउँपालिकाको केन्द्र तोकिएको साविकको सेमजोङ गाउँ विकास समितिको वडा नं ५ सेमजोङ गाउँका छजना स्थानीयले गाउँपालिकालाई निःशुल्क जग्गा दिएका थिए । अन्य पाँचजना स्थानीयले ११ आना र १२ आनाको दरले जग्गा दिए पनि प्रेमबहादुर गुरुङको भने पास गर्ने बेलामा झुक्याएर तीन रोपनी १२ आना जग्गा गाउँपालिकालाई पास गरेर दिइएको प्रेमबहादुरका छोरा शेरबहादुर गुरुङले आरोप लगाएका छन् ।

गाउँपालिकालाई प्रेमबहादुर गुरुङसहित ३ नम्वर वडाका छन्दबहादुर तामाङले १२ आना २ दाम, कमानसिंह गुरूङले ११ आना १ दाम, काले तामाङले १२ आना २ दाम, मनबहादुर गुरुङले १ रोपनी ११ आना २ दाम र मिनबहादुर गुरुङले १२ आना ३ दाम जग्गा गाउँपालिकालाई दान दिएका थिए ।

अन्य जग्गादाताले आफ्नै थोरै जग्गा दिएको र प्रेमबहादुरको भने झुक्याएर सबै जग्गा गाउँपालिकाको नाममा गर्न लगाएको भन्दै प्रेमबहादुरका छोरा शेरबहादुर, कान्छा छोरा वीरबहादुरको हकवालाको तर्फबाट बुहारी कमला गुरुङ र श्रीमती कुमारी गुरुङले ३ रोपनी १२ आना जग्गाको ३ भाग जग्गा बदर गरी आफूहरूलाई फिर्ता दिलाइदिन माग गर्दै जिल्ला अदालतमा मुद्धा दर्ता गराएका हुन् ।

जग्गा किनबेचको विवादमा गाउँपालिका अध्यक्ष दुर्गाकुमार शाक्यसमेत मुछिएका छन्। शाक्यले वडा कार्यालयको लेटरप्याड प्रयोग गरी वडाध्यक्ष आफैं हुँ भनी घरबाटो प्रमाणित गरिदिएको खुलेको छ । हालको ३ नम्बर वडामा पर्ने उक्त जग्गा किनबेचका लागि वडा कार्यालयले घरबाटोको सिफारिस प्रमाणित गर्नुपर्नेमा वडाध्यक्षलाई थाहै नदिई घरबाटोको सिफारिस प्रमाणित गरी जग्गा किनबेच भएको छ ।

नेत्रावती गाउँपालिका अध्यक्ष दुर्गाकुमार शाक्यले भने, ‘जग्गा मिलाउने जिम्मा गाउँलेहरूलाई नै दिएका थियौं, सबैजना गाउँले आएर जग्गा पास गरिदिन्छौं भनेपछि म पनि सदरमुकाममै रहेका बेला जग्गा पास गर्न घरबाटो प्रमाणितले नै रोकिएपछि मैले नै वडाको सिफारिस दिएको हुँ । कुनै खराब नियत राखेर कसैलाई फसाउन खोजिएको होइन, उहाँहरुको पारिवारिक समस्याले गर्दा अहिले विवाद आएको हो।’

३ नम्वर वडाध्यक्ष विजय तामाङले भने, ‘जग्गा किनवेचको लागि मैले घरबाटो भए/नभएको प्रमाणित गरेको छैन, मकहाँ निवेदन पनि आएकै छैन ।’ जग्गा पास भइसकेपछि प्रेमबहादुरका छोरा र पत्नीले आफूलाई किन सबै जग्गाको सिफारिस दिएको भन्दै आएपछि मात्रै अरूले नै सिफारिस गरिदिएको थाहा पाएको विजयले बताए ।

स्थानीय सरकार सञ्चालन ऐनमा घरबाटो प्रमाणित गर्न वडाध्यक्षले मात्रै पाउने ब्यवस्था रहेको भए पनि गाउँपालिका अध्यक्ष शाक्यले वडाध्यक्ष बनि घरबाटो प्रमाणित गरिदिएका हुन्। आफूले असल नियतले समस्या समाधान गर्नका लागि मात्रै सिफारिस गरेको र कुनै किर्ते नगरेको शाक्यको भनाइ छ । राजश्व कम पर्ने भएकाले निःशुल्क भन्ने ठाउँमा थोरै पैसा राखेर जग्गा पासको लिखत बनाएको भए पनि जग्गा खरिदकै लागि जग्गावालालाई दिन कुनै रकम नखर्चिएको शाक्यले दाबी गरे । साभारः अन्नपुर्णपोष्ट

x