
धादिङ साउन २०। बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना वरिपरि करिव ३ सय किलो मिटर दुरीको रिङरोड बन्ने भएको छ ।
५४ वर्गकिलोमिटर फराकिलो हुने र जलाशय वरिपरि १५ मिटर फराकिलो रिङरोड बन्ने भएको हो ।
रिङरोड निर्माणका लागि यस वर्ष १४ करोड रुपैयाँ प्राप्त भएको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइका प्रमुख कृष्ण कार्कीले बताए ।
बूढीगण्डकी जलाशयका कारण समुद्री सतहदेखि ५ सय ४० मिटर उचाइसम्मको भूभाग डुबानमा पर्नेछ ।
१२ सय मेगावाट क्षमताको विद्युत उत्पादनको लागि बन्न लागेको बुढीगण्डकी जलाशय युक्त परियोजना हो । अहिलेसम्म जलाशययुत्तः आयोजनाबाट ९२ मेगावाट क्षमताको विद्युत आयोजना मात्रै बनेकोमा यति ठूलो आयोजना जलाशययुक्त बनाउन लागिएको हो । अहिले वार्षिक सबै आयोजनाको क्षमता जोड्दा ३ सय ६० करोड युनिट विद्युत उत्पादन हुनेमा बुढी गण्डकी एक्लैले ३ सय ४० करोड युनिट विद्युत उत्पादन गर्नेछ।
यसरी बन्ने परियोजनाको बाँध दुई सय ३६ मीटर उचाईको डबल आर्च कर्भेचरको बन्नेछ। समुन्द्र सतहदेखि ५ सय ४० मीटरको उचाईमा उच्चतम जलसतहको अवस्थिती रहने उक्त परियोजनाको लागि निर्माण हुने जलाशयमा ४.५ अर्ब घनमीटर अर्थात् हजार लिटरका ४.५ अर्ब वटा पानी ट्याङ्की बराबरको पानी संचित हुने बताईएको छ ।
यो जलाशय १५ वटा फेवाताल जत्रो हुने बताइएको छ । दुई खर्ब ५० अर्ब लागतको अनुमान गरिएको उक्त परियोजना आसपासमा कृषि पर्यटन तथा बहुद्देश्यीय जलस्रोत विकास परियोजनाको रूपमा अगाडि बढाउन समेत सकिने जनाईएको छ।
