काठमाडौं, साउन १७ । पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ ।
नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।
यसैगरी ज्ञानेन्द्र मल्लले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा नेपालका तर्फबाट पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाएका छन् । ओपनिङ ब्याट्म्यानका रूपमा मैदान आएका मल्लले आठ चौकाको मद्दतले ५६ बल खेल्दै अर्धशतक पूरा गरेका हुन् ।
जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५ मा सबै विकेट गुमाउँदै १३४ मा समेटियो । ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझदोरी गरेपनि त्यसपछिका ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा नेपालले हार बेहोर्नु परेको हो । नेपालले हार बेहोरे पनि खेलाडीले भने नयाँ रेकर्ड बनाएका छन् ।
नेपालका बलर सोमपाल कामी अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् । सोमपालले तेस्रो ओभरको तेस्रो बलमा नेदरल्याण्डका ओपनर ब्याट्सम्यान ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गर्दै अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेटमा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका हुन् ।
