एजेन्सी, साउन १७ । चीनका राष्ट्रपति शी चिनफिङका नीतिहरूको आलोचना गर्दै कानूनका एक वरिष्ठ प्राध्यापकले लेखेको लेख अहिले चर्चामा छ ।
बेइजिङस्थित शिंझुआ विश्वविद्यालयमा कानून प्राध्यापन गर्ने शु झांगुरनले शीको आर्थिक र परराष्ट्रनीतिको आलोचना गरेका हुन् । चीनमा शीर्ष नेतृत्वको आलोचनालाई तत्कालै सेन्सर गरिने प्रचलन छ र यो लेख प्रकाशित हुनु आश्चर्यकै कुरा भएको छ ।
शुले शीलाई आजीवन राष्ट्रपति बनाउने कम्युनिस्ट पार्टीको निर्णयको पनि चर्चा गरेका छन् । शीलाई आजीवन शासन चलाउनका लागि चीनको कम्युनिस्ट पार्टीले १० वर्षसम्म मात्र सर्वोच्च पदमा बस्न पाउने नियम परिवर्तन गरेको थियो ।
प्राध्यापक शुले यस किसिमको परिवर्तन शीमा मात्र सीमित नरहने बताए । उनका अनुसार, ‘भविष्यका नेताहरूलाई ध्यानमा राखेर पार्टीको परम्परा अघि बढाउनुपर्थ्यो ।’
शुले लेखमा शीका आर्थिक नीतिको पनि आलोचना गरे । शीले सत्तामा आएपछि अर्थव्यवस्थामा व्यापक परिवर्तन र नागरिकको जीवनस्तरमा सुधारको वाचा गरेका थिए । प्राध्यापकले लेखमा राजनीतिक अधिकार खुम्च्याइँदा अर्थव्यवस्था झर्न
सक्ने चेतावनी पनि दिएका छन् ।
दुईचोटिको अधिकतम कार्यकाल हटाउने कानूनका विषयमा प्राध्यापकले लेखे, ‘अन्तर्राष्ट्रिय समुदाय यसलाई चीनको राजनीतिमा आधुनिकीकरणका रूपमा हेरिरहेको छ । देशभित्रै चाहिँ यसलाई राजनीतिक जिद्दीका रूपमा हेरिएको छ ।
दुईचोटिसम्मको कार्यकाल नियम देशको हितमा थियो । यो नियममार्फत कुनै पनि राजनीतिकर्मीले सत्तामा लगातार बसिरहन पाउँदैनथियो । यसले देश र पार्टीपभत्र शान्ति बहाली गर्न सहज हुन्थ्यो ।’ लेखमा शीका राजनीतिक महत्त्वाकांक्षाको आलोचनाका साथै चीनको अर्थव्यवस्थाका विषयमा पनि चेतावनी दिइएको छ । चीन र अमेरिकाबीच चलिरहेको व्यापार युद्धका विषयमा चिन्ता पनि व्यक्त गरिएको छ ।
