९ मिनेटमा ३ गोल खाँदा बार्सिलोना रोमासँग पराजित

Avatar photo
Dhadingpost
साउन १६, २०७५

काठमाडौं, साउन १६ । नयाँ सिजनको तयारीका लागि भइरहेको इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब रोमासँग पराजित भएको छ ।

रोमामा अनुबन्ध हुने लगभग पक्का भइसकेपछि स्पेनिस क्लब बार्सिलोना लागेका मालकमले पहिलो खेलमा गोल गरेर उत्साहित भए पनि नतिजाले खुसी हुन दिएन । खेलको ४९ औं मिनेटमा मालकोमले गोल गरेका थिए तर, बार्सिलोना ४–२ ले पराजित भयो ।

बार्सिलोनाका लागि खेलको छैठौं मिनेटमा नै राफिन्हाले अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा एल सारावीको गोलमा रोमाले बराबरी गरेको थियो ।

माल्कोमको गोलबाट ४९ औं मिनेटमा अग्रता बनाएको बार्सिलोनाले त्यसपछिको नौ मिनेटमा ३ गोल खान पुग्यो । ७८ औं मिनेटमा एलेजान्ड्रो फ्लोरेन्जी, ८३ औं मिनेटमा ब्रायन क्रिष्टटान्टेले गोल गरे भने ८६ औं मिनेटमा पाएको पेनाल्टीमा डिएगो पेरोटीले गोल गरे ।