पोखरामा बाबुको किरिया गर्न छोरीलाई रोक

Avatar photo
Dhadingpost
साउन १४, २०७५

पोखरा, साउन १४ । दुर्घटनामा आफ्नो बुवा गुमाएको पीडा त छदै थियो त्यसमाथि किरिया बस्न खोज्दा नपाउँदा पोखरामा एक छोरी दुखित बनेकी छन् ।

पोखरा ६ लेकसाइडका मधुकर सुवेदीको शुक्रबार कार दुर्घटनामा परी मृत्यु भयो । उनको शनिबार दाहसंस्कार गरियो । १६ वर्षीया छोरी ममता सुवेदीले उनलाई दागबत्ती दिइन् । तर किरिया बस्न भने रोक लगाइयो ।

आफू किरिया बस्ने बताए पनि आफन्तहरूले नै उनलाई रोके। मधुको किरिया उनका भाइ हरि सुवेदीले गरेका छन् । काका र भतिजीलेसँगै किरिया गर्न नमिल्ने भन्दै आफन्तले ममतालाई किरिया गर्न रोकेका हुन् ।

तर मानवअधिकारकर्मीहरूले भने महिलाको अस्तित्व स्वीकार नगरिएको आरोप लगाएका छन् । मृतक मधुकरका दाजु खेमराज सुवेदी आफूहरूको संस्कारमा काका र भतिजीले सँगै किरिया गर्ने परम्परा नरहेको बताए । छोरीले किरिया गर्ने कुराको आफूले विरोध नगर्ने भन्दै उनले छुट्टै किरिया बस्न आग्रह गरे ।

छोरी किरिया बसे आफूहरूले छोड्ने आफन्तको प्रतिक्रियापछि ममताले किरिया गरेकी छैनन् । किरियाकर्ममा सहयोगी पण्डित नन्दराम अधिकारीले पनि शास्त्रमा छोरीले किरिया बस्न नहुने उल्लेख नभएको भन्दै बाबुछोरी भने सँगै बस्न नहुने बताए ।