तस्करले ८० लाख रुपैयाँ मूल्य तोकेको कुकुर

Avatar photo
Dhadingpost
साउन १३, २०७५

एजेसी, साउन १३ । कोलम्बिया लागु औषध तस्करीका लागि बदनाम छ तर सोब्रा नामको एउटा कुकुरले लागु औषध तस्करको निद हराम गरेको छ ।

केराको बाकसबाट सोब्राले त्यहाँ लुकाएर राखेको २ हजार ९ सय ५८ किलो कोकिन बरामद गर्न सहयोग गरेको थियो । केराको भित्र कोकिनले भरिएको यो बाकस बेल्जियम पठाउन लागिएको थियो ।

अझ रोचक कुरा त के छ भने यो कुकुर बुलेटप्रुफ गाडीमा आवतजावत गर्छ, यसको सुरक्षा गर्न २ जना बन्दुकधारी प्रहरी खटिएका हुन्छन्, विमानस्थलको सुरक्षाका लागि यो कुकुरलाई ६ घण्टा राखिन्छ, यो कुकुरको उमर ६ वर्षको रहेको छ ।

यो कुकुरले २ वर्षमा झण्डै ६८ करोडभन्दा बढी रुपैयाँ बराबरको लागु औषध पक्राउ गर्नमा सहयोग गरेको छ । यहि कारण तस्करहरुले यो कुकुरका लागि ८० लाख रुपैयाँ बराबरको मुल्य तोकेका छन् ।

तस्करले आफ्नो समूहमा यो कुकुरलाई जिउदै अथवा मारेर ल्याउनेलाई ८० लाख रकम इनाम दिइने सन्देश पठाएका छन् । कोलम्बियाको प्रहरीले पनि तस्करले पठाएको यो सन्देशका बारेमा ट्वीट गरेको छ ।

जर्मन शेफर्ड सोब्रा नामको कुकुर पछिल्लो २ वर्षदेखि कोलम्बिया प्रहरी विभागमा काम गरिरहेको छ । प्रहरी रिर्पोटका अनुसार यो कुकुरको सहयोगबाट अहिलेसम्म २ सय ४५ जना अपराधी पक्राउ परेका छन् । यो कुकुरले दुईवटा विमानस्थलमा ड्युटी गर्छ ।