एजेन्सी, साउन १३ । अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी हँुदा पाँच जनाको मृत्यु भएको छ भने १७ जना सम्पर्क बाहिर छन् ।
आगलागीको चपेटामा परेर दशौं हजार व्यक्ति विस्थापित भएका छन् । आगोमा जलेर ७० वर्षीया महिला, दुई बालबालिका र दुई अग्नि नियन्त्रकको मृत्यु भएको बीबीसीले जनाएको छ ।
हावाहुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झण्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ । न्याशनल गार्डसहित हजारौँ आपत्कालीन कर्मचारी उक्त क्षेत्रमा आगो नियन्त्रणका लागि खटिएका छन् । अलास्का र टेक्ससबीच उत्तर अमेरिकामा १ सयभन्दा बढी डढेलो लागेका खबरहरू छन् ।
आगलागीबाट कम्तिमा पाँच सय भवनमा क्षति पुगेको र हजारौं घरहरु खरानी हुने खतरा रहेको समाचारमा उल्लेख छ । आगो १९४ वर्ग किलोमिटरसम्म फैलिएको छ जुन सान फ्रान्सिस्को क्षेत्रफलभन्दा धेरै हो ।
