बुटवल, साउन ९ । रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामअंकित चाँदीको मुद्रा (सिक्का) निष्काशनमा रोक्का भएको छ ।
पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम सञ्चालन समितिका अध्यक्ष रामवली चौधरीले मुद्रा निष्काशन भए पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्गको ऐतिहासिक र पौराणिक महत्व बढ्ने तथा शिव ज्योतिर्लिङ्गप्रति मानवीय आस्था, विश्वास र आकर्षण बढ्नेछ भन्नुुभयो ।
यसअघि २०७३ सालमा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्गअंकित हुलाक टिकट प्रकाशन भइसकेको छ । महादेवप्रति जलार्पण र अन्य सबै देवीदेवताप्रति रुद्राभिषेकका लागि प्रसिद्ध पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा शिव पाञ्चायन, गणेश पार्वती मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सन्तोषीमाताको मन्दिर, चन्द्रमा आकारको धाम सरोवर १०८ शिवलिङ्ग र ५।५ फिटको शिव मूर्ति र नागकुण्ड छन् ।
मुद्रा निष्काशनका विषयमा कस्तो नीति निर्माण गर्ने भन्ने विषय निश्चित नभएका कारण यस वर्ष पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम अंकित चाँदीको मुद्रा रोक्का भएको नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखाका निर्देशक अशोककुमार पौडेलले जानकारी दिनुभयो । उहाँले सातै प्रदेशमा ऐतिहासिक स्थानविशेषका मुद्रा निष्काशनका विषयमा छलफल भइरहेको उल्लेख गर्दै यस वर्ष रोकिए पनि सम्भवतः अर्को वर्ष निष्कासन हुने बताउनुभयो ।
