
धादिङ, ज्यमरुङ श्रावण ४ । धादिङको नीलकण्ठ नगरपालिका अन्तरगत ज्यामरुङको दमैचौतारा डाँडाको उत्तर तर्फको पाखोको जमिन चिरिदा पहिरोको जोखिम बढेको छ ।
उक्त फाटेको जमिनको सतहले पहिरोको रुप लियो भने, ज्यामरुङको लम्साल गाउँ, लामिछाने, सिम्ले, पाङ्ग्रे गाउँका १५० घर धुरी विस्थापित हुने वर्डा अध्यक्ष तिलकबहादुर थापामगरले धादिङपोष्टलाई बताए ।
विहिबार बसेको वर्डा स्तरिय दैविक प्रकोप उद्दार समितिको वैठकले समेत उक्त प्रभावित क्षेत्रका स्थानिय १५० घर परिवारलाई सुरक्षित स्थानमा सार्न जिल्ला स्थित सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने निर्णय गरेको समेत अध्यक्ष थापाले बताए ।
निरन्तरको वर्षा र पहिरोको जोखिम बढे सँगै स्थानियहरु त्रासमा रात विताई रहेका छन् । दमैचौतारा डाँडाको उत्तर तर्फको पाखामा सडक खन्ने क्रममा डोजरले थर्काए पछि र सडकले पाखाको तह तहमा खण्डित गरेका कारण नै जमिन फाटेको स्थानियहरु बताउँछन् ।

जिल्ला दैविक प्रकोप उद्दार समिति धादिङको संयोजक प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको टोलिले पनि जुनकुनै समय पहिरोजान सक्ने हुनाले स्थानियलाई सचेत रहन आग्रह गर्दै फर्किएको थियो ।
नीलकण्ठ नगरपालिका वर्डा नं. ११ ले सुचना नै जारी गर्दै श्री मञ्जुश्री मावि प्राङ्गणबाट पश्चिम तर्फ र स्वाथ्य चौकी पाङ्ग्रेबाट पूर्व तर्फ पर्ने सबै भुभाग ( ज्यामरुङ साविकका वर्डाहरु ३ र ४ को सबै भुभाग) का स्थानियहरुलाई सुरक्षित बसोबास गर्न अनुरोध समेत गरेको छ ।

