काठमाडौंमा इक्यान शैक्षिक मेला साउन ३ गतेदेखि शुरु

Avatar photo
Dhadingpost
साउन २, २०७५

काठमाडौं, असार २ । नेपाल शैक्षिक परामर्श संघ (इक्यानं) को १२ ओं बृहत् शैक्षिक मेला साउन ३ गतेदेखि शुरु हुने भएको छ ।

मेलामा एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। ‘मेलामा सहभागिता जनाउन विभिन्न देशका दूतावास तथा कूटनीतिक नियोगहरुलाई समेत आग्रह गरिएको छ,’ इक्यान अध्यक्ष पाण्डेले भने, ‘विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरका विषयमा पर्याप्त सूचना प्रवाह गरिने छ।’

मेलामा वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकका लागि, अन्तराष्ट्रिय शैक्षिक क्षेत्रका नयाँ जानकारी, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहनसहन, हावापानी, वातावरण, कलेज एवं देशअनुसारको शुलक तथा विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीका लागि चाहिने सबै विषयवस्तुमा यथार्थ जानकारी लिन उचित स्थान रहेको इक्यान अध्यक्ष पाण्डेले बताए ।

‘बाह्रौं संस्करणसम्म आइपुग्दा हामीले समाज, सरकार र शिक्षासँग सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरुले इक्यानले विश्वास प्राप्त गरेको छ,’ मंगरबार आयोजित पत्रकार सम्मेलनमा इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले भने, ‘विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सही जानकारी र परामर्श पाउन् भन्ने अपेक्षासहित शैक्षिक मेला आयोजना गर्न लागिएको हो।’ मेला काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा साउन ३ गतेबाट चार दिनसम्म चल्नेछ ।

मेलामा २ सय २६ भन्दाबढी स्टल तथा १७ वटा पेभिलियनहरु रहनेछन् । मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्यान्ड, अस्ट्रेलिया, नर्वे, फिनल्यान्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहने छ। साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गरिने जनाइएको छ।