चौतारा, असार २९ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका सल्लेमा जीप दुर्घटना हँुदा पाच जनाको मृत्यु भएको छ ।
मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप बिहीबार साँझ थाङपालकोट र थाङपालधापको सिमानामा पर्ने फ्याफुला डाँडामा दुर्घटना भएको थियो । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चल्दाचल्दै स्टार्ट बन्द भएपछि जीप सडकबाट करिब चार सय मिटर तल खसेको थियो । प्रहरी र स्थानीयबासीले घाइतेहरुको उद्धार गरेका थिए । तर, पानी परेकाले बाटो बिग्रिएको र बेलुकाको समय भएकाले उद्धार कार्यमा समस्या भएको थियो । घाइतेहरुको उद्धारको लागि राति नै नाइट भिजन हेलिकप्टर आए पनि खराब मौसमको कारण फर्किएको थियो ।
घाइतेहरुलाई दुर्घटना भएको जीपभन्दा पछाडि आइरहेको एउटा ट्रकमा राखेर मेलम्ची पुर्याइएको थियो । घाइतेहरुलाई मेलम्चीबाट शुक्रबार बिहानपख साढे २ बजे काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको लागि पठाइको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए । घाइतेहरुमध्ये चालकको अवस्था गम्भीर छ ।
