क्रोएसियाले इतिहास रच्ला ?

Avatar photo
Dhadingpost
असार २७, २०७५

एजेन्सी असार २७ । विश्वकप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलमा आज क्रोएसिया र इंग्ल्यान्ड बीच हुँदैछ । पहिलोपटक इतिहास बनाउने ध्याउन्नमा रहेको क्रोएसियाले दोस्रोपटक उपाधिको खोजीमा रहेको इंग्ल्यान्डलाई हराउनु बाहेक अर्को विकल्प छैन ।

प्रतियोगितामा इंग्ल्यान्ड र क्रोएसिया दुवै अनपेक्षित टिमका रूपमा सेमिफाइनल पुगे तर अब दुवै अपेक्षित रूपमा दाबेदार बनेका छन् । क्रोएसिया १९९८ पछि पहिलोपटक सेमिफाइनलमा पुग्न सफल भएको हो भने ग्यारेथ साउथगेटको इंग्ल्यान्ड पनि १९९० पछि विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको हो ।

दुवैका लागि सेमिफाइनल अनुभव दशकौंपछि भएकाले कुनै एक टिमका लागि इतिहास बन्ने पक्का छ। क्रोएसिया र इंग्ल्यान्ड दुवैलाई आफ्ना स्टार खेलाडीमा बढी विश्वास छ ।

क्रोएसियाका सेन्ट्रल मिडफिल्डरहरू लुका मोड्रिक तथा इभान राकिटिकको प्रदर्शन महत्वपूर्ण रहँदा स्ट्राइकर मारियो मान्जुकीले क्रोएसियाका लागि निर्णायक हुने क्रोएसियाको विश्वास छ ।

त्यस्तै इंग्ल्यान्ड जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेका ह्यारी केनको प्रदर्शनमा आसवादी रहँदा रहिम स्ट्र्रलिङ र डेल अली तथा राइट विङ–ब्याक केरन ट्रिपियर इंग्ल्यान्डका लागि महत्वपूर्ण बन्न सक्ने सम्भावना सर्वाधिक छ। इंग्ल्यान्ड पछिल्ला १५ खेलमध्ये एक खेलमा मात्र पराजित भएको छ ।

समूहचरणको अन्तिम खेलमा बेल्जियमसँग दोस्रो दर्जाका खेलाडी खेलाएको खेलमा इंग्ल्यान्ड पराजित भए पनि त्यसबाहेकका अधिकांश नतिजामा इंग्ल्यान्ड बलियो छ। विश्वकप फुटबलमा क्रोएसिया र इंग्ल्यान्ड पहिलोपटक प्रतिस्‍पर्धा गर्न लाग्दै छन्। तर, २०१० को विश्वकप छनोटमा भने क्रोएसिया इंग्ल्यान्डसँग फराकिलो अन्तरले पराजित भएको थियो ।

एक/अर्काविरुद्ध सातपटक प्रतिस्‍पर्धा गर्दा इंग्ल्यान्डले ४ पटक जितेको छ । क्रोएसिया भने २ पटक मात्र इंग्ल्यान्ड माथि जित निकाल्न सफल भएको छ । एकपटक यी दुई टिमले बराबरी खेलेका थिए । तर, पछिल्लोपटक २००८ मा ४–१ तथा २००९ मा ५–१ प्रभावशाली जित निकाल्न इंग्ल्यान्ड सफल भएको थियो ।