
सञ्जय देवकोटा,
धादिङ असार २७ । उत्तरी धादिङका भूकम्प विस्थापितलाई सुरक्षित स्थानमा जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रभावित भएका र जोखिमयुक्त बस्तीमा रहेका स्थानीय लाभग्राहीहरुलाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार जिल्ला आयोजना कार्यन्वयन इकाई, धादिङको संयोजनमा नयाँ घर निर्माणको लागि मंगलबार जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो ।
जिल्लाको साविकको लापा गाउँ विकास समतिको लपाङचेतका १४ र रि गाउँ विकास समितिका ५ जना भूकम्प प्रभावितलाई जिल्ला समन्वय समिति धादिङका संयोजक जगन्नाथ नेपालले जग्गाधनी प्रमाण हस्तान्तरण गरेका हुन् ।
नीलकण्ठ नगरपालिकाको वडा नं. १२ स्थित भद्रगाउँमा बसोबास गर्नको लागि लाभग्राहीले नै छनोट गरेका र सोही ठाउँमा ५-५ आनाका दरले जग्गाको लालपुर्जा वितरण गरिएको हो ।
सरकारले भूकम्प पीडितलाई दिने ३ लाख अनुदान रकममा बस्ती थानान्तरण गर्नुपर्ने लाभग्राहीलाई जग्गा खरिदको लागि थप दुई लाग अनुदान रकम दिने निति अनुसार उनीहरुलाई लालपुर्जा प्रदान गरिएको र अबको ३ महिनाभित्रमा घर निर्माण कार्य अनिवार्य रुपमा सुरु गर्नुपर्ने कुरा स्थानीय पूर्वाधार जिल्ला आयोजना कार्यन्वयन इकाई, धादिङका प्रमुख इन्जिनियर राजेन्द्र केसीले बताए ।
जिल्लामा भूगर्भविदहरुले अध्ययन गरेर बस्न अयोग्य भनि सिफारिस गरिएका २७४ लाभग्राही मध्ये अहिलेसम्म १४७ जना लाभग्राहीलाई लालपुर्जा वितरण गरि सकिएको छ । यस्तै छनौटमा परेका ८४ जना सुकुम्बासी लाभग्राहीहरुलाई पनि चाडै नै लालपुर्जा वितरण कार्य सुरु गरिने प्रमुख केसी बताउँछन् ।
पहिला नै जोखिमयुक्त स्थानमा घर निर्माण कार्य सुरु गरिसकिएको भूकम्पको अनुदान रकम पहिलो र दोस्रो किस्ता समेत लिइसकेकाले सरकारले किनि दिएको जग्गामा घर निर्माण गर्न कठिनाइ भएको स्थानीय लाभग्राहीको गुनासो छ ।
