थाइल्याण्डको गुफामा फसेका बाँकी ५ जनाको उद्धार कार्य जारी

Avatar photo
Dhadingpost
असार २६, २०७५

एजेन्सी, असार २६ । थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका ५ बालकको उद्धार कार्य जारी राखिएको छ । उक्त गुफामा १३ जना फसेकोमा गत आइतबार र सोमबार गरी ४÷४ जनाको उद्धार गरिएको छ ।

दुई दिनमा गरेर आठ जनाको उद्धार गरिसकेको थाइल्यान्डको जलसेनाले पुष्टि गरेको छ । आइतबार उद्दार गरिएकाहरुको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।

तर पछिल्लो पटक उद्धार गरिएकाहरुलाई भने सामान्य चिसो लागेको अधिकारीहरुले जनाएका छन् । उद्धार गरिएकाहरुलाई हेलिकोप्टरमार्फत् चियाङराई सहरस्थित अस्पतालमा भर्ना गरिएको छ ।

अधिकारीहरुले उद्धार गरिएकाहरुको परिचय गोप्य राखेका छन् । उद्धार गरिएका विद्यार्थीसँग उनीहरुका परिवारका सदस्यलाई समेत भेट गर्न दिइएको छैन ।

उद्धार टोलीमा थाइल्यान्डका ४० जनासहित विभिन्न देशका ९० जना सहभागी छन् ।

बाँकी ५ जनाको पनि उद्धारकार्य जारी राखिएको छ । अब गुफा भित्र गुफाभित्र चार बालक र एक जना फुटबल प्रशिक्षक मात्र बाँकी छन् ।

गत जुन २३ देखि त्यहाँ अलपत्र परेका १२ बालक र तिनका फुटबल प्रशिक्षकलाई बाहिर ल्याउन आइतबारबाट चुनौतीपूर्ण र जटिल उद्धार अभियान थालिएको थियो ।