काठमाडौ, असार २५ । दुई तिहाई बहुमतसहितको सरकार गठन भएको चार महिना बितिसक्दा समेत जनताले महसुस गर्ने गरी काम नभएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना सुरु भएको छ ।
सरकारको आलोचना सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचनाको प्रतिवादन गर्न नेताहरुलाई निर्देशन नै दिनुभएको छ । पार्टीका नेताहरुले दुई तिहाई बहुमत भएर पनि के कारणले सरकारले काम गर्न सकिरहेको छैन भन्ने प्रश्न अगाडि सारेको बताउँदै नेकपाका एक स्थायी समितिका सदस्यले नेपाल समाचारपत्रसँग भने– ‘कसैलाई दोष दिएर पन्छिने ठाउँ पनि अब सरकारसँग छैन, दुई तिहाई बहुमत प्राप्त सरकारले पनि भनेजस्तो काम गर्न नसकेपछि सरकारको आलोचना सुरु भएको छ ।’
प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई काम गर्नका लागि पर्याप्त समन्वय नगरेको विषयले पनि पार्टीभित्र चर्चा पाएको छ । ओली नेतृत्वको सरकारमा सिन्डिकेट हटाउने, सुन काण्डका छानविन, काम नगर्ने ठेकेदारहरुलाई पक्राउ गर्ने काम गरे गृहमन्त्री रामबहादुर थापामाथि नै अकुंश लगाउने काम भएको छ ।
समयभित्र नै काम नगर्ने ठेकेदारलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरे पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आपत्ति जनाउनुभएको छ । काम नगर्ने ठेकेदारलाई पक्राउ गर्ने गृहमन्त्री थापाको योजनाले सार्थकता पाउन सकेको छैन ।
उनका अनुसार सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको विषयमा पार्टीभित्र आम धारणा नै बनिसकेको छ ।
सरकार गठन भएलगत्तै केही सुधार हुने आशा र अपेक्षा नागरिकहरुले गरेका थिए । तर सरकार गठन भएको चार महिना बितिसक्दा समेत जनअपेक्षा अनुसार काम हुन नसकेको भन्दै पार्टीभित्र नै आलोचना सुरु भएको छ ।
पार्टीका नेताहरुले सरकारले काममा भन्दा पनि भाषणामा बढी जोड दिएको आरोप सरकारमाथि लगाएका छन् । स्थायी समितिको बैठकमा नेताहरुले सरकारको कार्यशैलीप्रति खुलेरै आलोचना गरेको बैठकमा सहभागी एक नेताले बताए ।
नेकपाका स्थानीय समितिका एक सदस्यले भने– ‘दुई तिहाई बहुमतसहितको सरकार छ, अवरोध भए पनि पन्छाउने तागत सरकारसँग छ, तर सरकारले खै किन हो तत्काल काम गरेर परिणाम दिनुपर्ने विषयमा पनि काम गर्न सकेन ।’ सरकारको कार्यशैलीप्रति नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, नेता घनश्याम भुसाललगायतका नेताहरुले असन्तुष्टि जनाएका छन् ।
सरकारकाले चार महिनाको अवधिमा पनि नागरिकले दैनिक जीवनकमा महसुस गर्ने काम नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट भन्दा पनि आफ्नै पार्टीभित्रबाट आलोचनाको सामना गर्नुपरेको छ । छिमेकीसँगको सम्बन्ध मजबुत बनाउन प्रधानमन्त्री ओलीले भारत र चीनको भ्रमण गरिसक्नुभएको छ । तर देशलाई समृद्ध बनाउने प्रधानमन्त्री ओलीको अभियान र व्यवहारमा भने तालमेल मिलेका देखिँदैन ।
