एजेन्सी, टोकियो, असार २५ । जापानमा बाढी र पहिरोमा परी कम्तीमा पनि ७० जनाको मृत्यु भएको छ भने अन्य दर्जनौं सर्वसाधारण बेपत्ता भएका छन् ।
आइतबार दिनभर मध्य तथा पश्चिमी जापानमा भीषण वर्षा जारी रहेको थियो । बिहीबारदेखि जापानमा भीषण वर्षा जारी रहँदा सयौं घरमा क्षति पुगेको जनाइएको छ ।
जापानको मौसम विभागले राजधानी टोकियोदेखि करिब ६ सय किलोमिटर टाढा रहेको मोटोयामा सहरमा शुक्रबार बिहानैदेखि शनिबारसम्ममा ५८३ मिलिमिटर पानी परेको जनाएको छ । आगामी दिनमा थप वर्षा हुन सक्ने विभागले जनाएको छ । हिरोसिमादेखि ३ सय किलोमिटर पूर्वमा रहेको क्योटोमा मुसलधारे वर्षा जारी छ ।
ओकायामा क्षेत्रमा करिब १ हजार जना उद्धारको पर्खाइमा छन् । सो क्षेत्रमा नदीको पानीको बहाव उच्च भएपछि जोखिम झनै बढेको हो । मृत्यु हुनेमध्ये सबैभन्दा बढी सिरोसिमाका नागरिक रहेका छन् । हिरोसिमामा ३० जना, इहिमेमा १९ जना र ओकायामामा १० जनाको मृत्यु भएको छ ।
बाढीपहिरोले यामागुची, क्योटो, गिफु, सिगा, ओसाका, ह्योगो, कोची, फुकुओका क्षेत्र प्रभावित भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबेले वर्षा र बाढीबाट भएको क्षति न्यूनीकरण गर्न तथा खोजी र उद्धारकार्य कुशलतापूर्वक सञ्चालन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
यो वर्षाका कारण सबैभन्दा बढी हिरोसिमा क्षेत्रमा क्षति पुगेको छ । करिब १५ लाख मानिसलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । जापान टाइम्सका अनुसार सो वर्षाका कारण करिब ४३ लाख मानिस प्रभावित भएका छन् ।
बेपत्ताको खोजी तथा उद्धारका लागि हजारौंको संख्यामा प्रहरी कर्मचारी, अग्निनियन्त्रक कर्मचारी र सैनिक परिचालन गरिएको छ । भूस्खलनका कारण केही सर्वसाधारण पुरिएको जापानको सरकारी समाचार एजेन्सी क्योदोले जनाएको छ ।
