काठमाडौं, असार २४ । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ ।
इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क उपभोक्ताबाट उठाउने भएपछि इन्टरनेट शु्ल्क कम्तीमा १४ प्रतिशत महंगो हुने भएको हो ।
सुविसुका संस्थापक सुधीर पराजुलीले इन्टरनेट सेवाको मूल्य १४.३ प्रतिशतले महंगिने बताए । सरकारले लगाएको नयाँ करको भार आफूहरुले नबोक्ने उनले बताए । पराजुलीका अनुसार सरकारले लगाएको थप कर उपभोक्ताबाटै असुलिनेछ ।
‘हामीले सरकारकारसँग छलफल गर्यौं । सरकारले उपभोक्ताबाट उठाएर बढेको शुल्क लिन भनेको छ,’ पराजुलीले भने,’अब इन्टरनेट सेवाको त्यसैअनुसार मूल्य समायोजन गर्छौं ।’
सरकारले बजेटमार्फत इन्टरनेट सेवामा पनि पनि दूरसञ्चार सेवा दस्तुर लगाउन सुरु गरेको छ । यसअघि नलिइने यस्तो दस्तुर एकैपटक १३ प्रतिशत पुर्याएपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले विरोध गर्दै आएका छन् । तर, सरकारले नसुनेपछि अब त्यसको भार उपभोक्तामाथि नै थोपर्ने योजना सेवा प्रदायकले बनाएका छन् ।
निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी गराएको छ । नेपाल टेलिकमले पनि साउनबाट मूल्य समायोजन गर्ने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । उनकाअनुसार बढेको शुल्कअनुसार नै सेवाहरुमा शुल्क वृद्धि गरिनेछ ।
इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले पनि साउन १ गतेबाट इन्टरनेटको शुल्क वृद्धि गर्ने तयारी गरेका छन् । सरकारले टेलिफोन सेवा प्रदायकका हकमा मात्र लगाउँदै आएको यो दस्तुर इन्टरनेट सेवामा पनि विस्तार गरेको छ ।
टेलिफोनमा ११ प्रतिशत रहेको दस्तुर १३ प्रतिशत पुर्याएर इन्टरनेट सेवामा पनि सोही दरमा लगाउन थालिएको हो । अब सबै सेवामा मूल्य अभिवृद्धि कर ९भ्याट० पनि लाग्नेछ । टेलिफोन सेवामा करिब ३ प्रतिशत मूल्य बढ्ने अनुमान छ ।
