एजेन्सी, असार २४ । टुना क्यानबाट कृत्रिम खुट्टा बनाएर हिँडिरहेकी आठ वर्षीया सिरियाली बालिकाको तस्विरले सारा विश्वको ध्यान खिच्न सफल भएको थियो ।
अहिले ती बालिकाले टर्कीमा कृत्रिम खुट्टासँगै नयाँ जीवन पाएकी छिन् ।
मायाजस्तै रोगले ग्रस्त पिता मोहमदले आफ्नो छोरीलाई गर्मी र धुलाम्य जमिनबाट जोगाउन सो घरेलु कृत्रिम खुट्टा तयार गरिदिएका थिए । त्यसैको मद्दतले माया हिँडडुल गर्न र क्याम्पमा रहेको स्कूल जार्ने गर्थिन् ।
उनको तस्विर सार्वजनिक भएपछि टर्किस रेड क्रिस्सेन्टले हस्तक्षेप गर्दै बाबुछोरीलाई इस्तानबुलमा उपचारका लागि ल्याएको थियो ।
‘उनी खुसी छिन्, स्वास्थ्य पनि राम्रो छ र अहिले हिँड्न सिक्दैछिन्,’ मायालाई निःशुल्क उपचार गरिदिएका प्रोस्थेटिक विशेषज्ञ डा. मेहमेट जेकी कुल्कुले अलजजिरासँग कुरा गर्दै भने ।
कुल्कुका अनुसार मायालाई नयाँ खुट्टामा पूर्णरुपमा अभ्यस्त हुन कम्तिमा ३ महिना लाग्नेछ । ‘तर, उनी पक्कै पनि हिँड्ने छिन्,’ उनले भने ।
उनको पिताले बनाएको घरेलु कृत्रिम खुट्टाले पनि निकै सहयोग गरेको डाक्टरको भनाई छ । किनभने यसले उनलाई घिस्रनभन्दा हिँड्न सिकायो ।
‘कसैको मद्दत बिनानै उनको पिताले दुःखलाई आशामा बदले र अहिले भगवानले उनीहरुको मद्दत गर्यो,’ कुल्कुले थपे ।
दुर्लभ रोगका कारण माया मेर्ही खुट्टा बिना नै जन्मिएकी थिइन् । आफ्नो घर रहेको अलेप्पोमा जारी द्वन्द्वका कारण उनी आफ्नो पितासँग शरणार्थी क्याम्पमा बस्दै आएकी थिइन् ।
त्यही क्याम्पमा घरेलु ट्युब र टुना क्यानले बनाइएको कृत्रिम खुट्टाको साहरामा माया हिँडिरहेको तस्विर खिचिएको थियो ।
मायाजस्तै रोगले ग्रस्त पिता मोहमदले आफ्नो छोरीलाई गर्मी र धुलाम्य जमिनबाट जोगाउन सो घरेलु कृत्रिम खुट्टा तयार गरिदिएका थिए । त्यसैको मद्दतले माया हिँडडुल गर्न र क्याम्पमा रहेको स्कूल जार्ने गर्थिन् ।
