काठमाडौं, असार २० । विश्वकपमा क्वाटरफाइनल प्रवेश गर्ने ८ टिमको टुंगो लागेसँगै गोल्डेन बुटको चर्चा हुन थालेको छ । गोल्डेन बुटको दौडमा यसपटक इंग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि देखिएका छ ।
जारी विश्वकपमा उनले गरेको गोल संख्या ६ छ । मंगलबार राति भएको खेलमा १–१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेपछि गोल्डेन बुटमा केनको सम्भावना बढेको हो ।
पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि ४ गोल नै गरेका छन् । पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेकाले उनको कुनै चुनौती छैन ।
त्यस्तै ३ गोल गरेका उरुग्वेका एडिन्सन काभानी, रुसका डेनिस चेरिसेभ र आर्टेम डिजुबा, फ्रान्सका किलियन एमबाप्पेको पनि सम्भावना अझै सकिएको छैन ।
समूह चरणका दुई खेलमा केनले ५ गोल गरेका थिए । ट्युनिशियाविरुद्ध दुई गोल गरेका उनले पानामा विरुद्धको खेलमा ह्याट्रिक नै गरेका थिए । ६ गोल गरेका केनले ३ गोल भने पेनाल्टीमार्फत गरेका हुन् ।
कोलम्बियासँगको खेलमा ५७ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका उनले आफ्नो गोलसंख्या ६ पुर्याए । गोल्डेन बुटको दौडमा उनलाई बेल्जियमका रोमेलु लुकाकुले पछ्याइरहेका छन् । उनको गोल संख्या ४ छ ।
