धादिङमा गाउँपालिकालाई २५ रोपनी जग्गा नि:शुल्क प्रदान

Avatar photo
Dhadingpost
असार १९, २०७५

धादिङ असार १९ । धादिङको सेमजोङ डब्जोङ गाउँपालिकाका २५ जना स्थानियहरुले गाउँपालिका कार्यालय संचालनको लागि २५ रोपनी जग्गा गाउँपालिकालाई नि:शुल्क प्रदान गरेका छन् ।

धादिङको ऐतिहासिक महत्व बोकेको करिब १६ औं शताब्दीको डब्जोङ सेमजोङ दरबार रहेको यस गाउँपालिकाको कार्यालय संचालन गर्न जग्गाको अभाव भैरहेको बेला स्थानियहरुले २५ रोपनी जग्गा निशुल्क हस्तान्तरण गरेको हुन् ।

स्थानिय प्रेमबहादुर गुरुङ र जितबहादुर घले (दाजुभाई) ले ३ रोपनी १२ आना, छन्दबहादुर तामाङले १२ आना, कमान सिंह गुरुङले १ रोपनी १२ अना, काले तामाङले १२ आना, मनबहादुर गुरुङले १ रोपनी ११ आना र मिन बहादुर गुरुङले १२ आना गरी ९ रोपनी ६ आना जग्गाको जग्गा धनी पुर्जा मंगलबार गाउँपालिका अध्यक्ष दुर्गाकुमार शाक्यलाई हस्तान्तरण गरे ।

कतिपय जग्गादाताहरुको जग्गा कागजी झमेलाका कारण मंगलबार पास हुन सकेन अब केहि दिनमै सबै प्रक्रिया पुरा गरेर गाउँपालिकाको नाममा पास गरि दिने जग्गादाताहरु बताउँछन् ।

स्थानिय जग्गादाताहरुको सहयोगको स्वागत गर्दै गाउँपालिका अध्यक्ष शाही भन्छन्, उनीहरुको नामावली अब बन्ने गाउँपालिका परिसरमा शिलालेखमा अंकित गरिने छ । भवन बनाउन जग्गा अभाव भैरहेको अवस्थामा गाउँपालिकाको नाममा जग्गा पास गरि दिने र गर्न तयार हुने सबै जग्गा दाताहरुलाई धन्यावाद दिएका थिए ।