विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी

Avatar photo
Dhadingpost
असार १५, २०७५

सुरुङ्गा, झापा, असार १५ । विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छ ।

स्थानीय पदमबहादुर तामाङको खेतमा काम गर्न गएका वेला खाजा खाएलगत्तै उल्टी आउने, रिङ्गटा लाग्ने, टाउको र शरीर दुख्ने भएपछि उपचारका लागि उनीहरुलाई मेची अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगली च्याउ खाँदा छ जना बिरामी परेका हुन् ।

जंगलबाट टिपेर ल्याएको विषाक्त च्याउ पकाएर खाँदा प्रेम किशान दर्जी, उनकी श्रीमती सुशीला दर्जी, आमा लीलामाया दर्जी, ज्वाइँ प्रकाश दर्जी र दुई छोराछोरी बिरामी परेका छन् । उनीहरुको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सात वर्षीय उदय राजवंशी, आठ वर्षीय जयप्रकाश राजवंशी पनि बिरामी परेका छन् । दश वर्षीय विक्रम राजवंशी उपचारपछि घर फर्किएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जबेगुले बताउनुभयो ।