धादिंग, असार १४। नीलकन्ठ नगरपालिका वडा नं ११ मा पर्ने गोला भन्ज्यांगमा दलित बस्तीको लागी परेको खाने पानी योजना निर्माणको लागी स्थानीय उपल्लो जातिका भनिनेहरुले अबरोध सिर्जना गरेका छन् ।
आर्थिक बर्ष २०७४/७५ का लागी दलित बस्ती खाने पानी योजनाको लागी विनियोजित ३ लाख रुपैयाको योजना चतुरमान बाडाको अध्यक्षतामा उपभोक्ता समिती निर्माण भएको हो । आयोजना निर्माणको लागी नीलकन्ठ नगरपालिकासंग सम्झौता समेत भई खानेपानीको मुहानमा ट्यांकी वनाएर पाइपसमेत बिछ्याई सकेको छ । तर दलितहरुलाई पानी दिन नहुने भन्दै स्थानीय हिराबहादुर बाडाको नेतृत्वमा आयोजना भत्काई दिने सम्मको धम्की दिने गरेको छ ।
खाने पानीको मुहान छनौट गर्ने क्रममा नजिकैको काली खोलाबाट पानी ल्याउने निर्णय गरेपनि आधा दर्जन भन्दा बढी खानेपानीका पाईपहरु हालेको उक्त स्थानबाट खेतमा पानी सुक्ने बहानामा दलित बस्तीमा पानी ल्याउन नदिएपछि मुहान परिवर्तन गरिएको थियो । नजिकैको परिवर्तित मुहान ठुलो खोलाबाट पानी ल्याउनको लागी ईन्टेक वनाउने लगायत धेरै जसो संरचाना निर्माण गरिसकेपछि स्थानीय हिराबहादुर बाडाले पानीको मुहान आफुहरुले पहिले-पहिले खेतमा पानी ल्याउने कुलोको नजिक पर्ने र आफ्नो हकदावी लाग्ने भन्दै बखेडा निकालेका थिए । आफुलाई हिउदमा र बर्खायाममा अलग अलग मुहानको पानी चाहिने भन्दै दलित बस्तीको लागी निर्मित योजनामा अबरोध खडा गरेको स्थानीय दलितहरुले बताएका छन् ।
सुरुको मुहानमा खेत सुक्छ भनेर खाने पानी ल्याउन नदिने ब्यक्तिहरु समेत ठुलो खोलाको पानीमा समेत अबरोध गर्न आउदा अचम्म लागेको स्थानीयबासीको भनाई छ । गोला भन्ज्यांगको प्राय सबै घरहरुमा खानेपानीको राम्रो सुविधा भए पनि दलित बस्तीमा अभाव रहदै आएको छ । उक्त स्थानमा खानेपानीको लागी आधा दर्जन भन्दा सरकारी योजना निर्माण भएपनि दलित बस्तीमा बनेका धाराहरुमा उपल्लो जाति भनिनेहरुले पानी जान अबरोध गर्दै आईरहेका थिए । दलित बस्ती खानेपानी निर्माणको लागी पटक पटक गाउँ भेला बसे पनि समस्या समाधान हुन सकेको छैन ।
जिल्लाको सदरमुकाम रहेको नीलकन्ठ नगरपालिका भित्र कानुनले समेत वर्जित गरेको यो किसिमको जातीय भेदभाव हुदा समेत सरोकार निकायको ध्यान जान सकेको छैन ।
